पोखराका खेल प्रेमीहरूको प्रतिष्ठित मञ्च ’पोखरा स्पोर्टस् अवार्ड’ को १० औं संस्करणमा ‘उदीयमान खेलाडी’ (इमर्जिङ प्लेयर) विधाको मनोनयनमा पर्न सफल तीन जना प्रतिभाशाली खेलाडीबीच चलेको रस्साकस्सी अझ बढी चर्चामा छ ।
एथ्लेटिक्सको ट्रयाकमा आफ्नो गति र साहस देखाउने अनुष्का अधिकारी, तेक्वान्दोको म्याटमा आफ्नो कला र अनुशासन प्रदर्शन गर्ने सचिन सुनार, र ब्याडमिन्टनको कोर्टमा आफ्नो फुर्तिलो कौशल पस्किने निभा राई— यी तीनै जनाको खेल यात्रा फरक–फरक पृष्ठभूमिका भए तापनि उनीहरूको लक्ष्य भने एउटै छ, भविष्यमा देशको झण्डा फहराउने । विद्यालयको खेल मैदानबाट सुरु भएको उनीहरूको यात्रा आज राष्ट्रिय स्तरको च्याम्पियनसिप र अन्तर्राष्ट्रिय मञ्चसम्म पुगिसकेको छ ।
अनुस्का अधिकारी (एथ्लेटिक्स)
पोखराकी १६ वर्षीया धाविका अनुष्का अधिकारी अहिले एथलेटिक्सको क्षेत्रमा एक उदाउँदो नामका रूपमा परिचित छन् । वि।सं। २०६६ साल भदौ २८ गते जन्मिएकी अनुष्काको पुख्र्यौली घर लमजुङ भए तापनि उनी लामो समयदेखि पोखरामै बस्दै आएकी छन् । हाल उनी पोखरास्थित सगरमाथा सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छन् ।
सानैदेखि खेलकुदमा निकै रुचि राख्ने अनुष्काको व्यावसायिक एथलेटिक्स यात्रा कक्षा ८ मा पढ्दादेखि सुरु भएको हो । विद्यालयका खेलकुद शिक्षक कृष्णबहादुर थापाले उनको खेल कौशल देखेर उनलाई प्रतियोगितामा सहभागी हुन हौसला दिएका थिए । सुरुमा सहभागी हुन केही हिचकिचाएकी उनले अन्ततः प्याब्सनको ४०० मिटर दौडमा भाग लिएर तेस्रो स्थान हासिल गरेपछि उनको खेल यात्राले नयाँ मोड लियो ।
त्यसपछि उनले राष्ट्रपति कपमा ४०० मिटर दौडमा दोस्रो स्थान हासिल गर्दै आफ्नो प्रतिभा प्रमाणित गरिन् । दौडका साथै लङ जम्प र भलिबलमा समेत उत्तिकै सक्रिय रहेकी अनुष्काले पछिल्लो समय रंगशालामा प्रशिक्षक सिद्धान्त अधिकारीसँग प्रशिक्षण लिइरहेकी छन् । खेलमा सफलता पाउन प्रशिक्षकहरूको मार्गनिर्देशन र परिवारको पूर्ण सहयोग रहेको उनले बताइन् ।
आफ्नो कडा परिश्रम र नियमित प्रशिक्षणकै कारण उनी अहिले स्पोट्र्स अवार्डको ‘इमर्जिङ प्लेयर’ (उदीयमान खेलाडी) विधाको मनोनयनमा पर्न सफल भएकी छन् । मनोनयनमा परेकोमा खुसी व्यक्त गर्दै उनले आफ्नो मेहेनतको फल पाएको महसुस भएको बताइन् ।
२०८३ सालमा उनले १५ औं कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २०० मिटर दौडमा प्रथम, प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३ वटा स्वर्ण, १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा १ रजत र ३ कास्य जितेकी छिन् ।
यस्तै १६ औं पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण, १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ३ स्वर्ण चौथो यू–२० एथ्लेटिक्स च्याम्पियनसिपमा २ स्वर्ण र दोस्रो पोखरा ओपन एथ्लेटिक्स मिटमा २ रजत र १ कास्य जितेकी छिन् ।
सचिन सुनार (तेक्वान्दो)
नेपाली तेक्वान्दो खेल क्षेत्रमा पोखराका सचिन सुनार एक उदीयमान प्रतिभाका रूपमा अगाडि आएका छन् । १७ वर्षमा प्रवेश गर्दै गरेका उनी पोखरा १५ स्थित सिद्ध माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययन गर्ने तयारीमा छन् ।
सचिनको पुख्र्यौली घर सिन्धुली भए तापनि उनको जन्म र हुर्काइ पोखरामै भएको हो । उनले वि।सं। २०७५ सालदेखि तेक्वान्दो खेल्न सुरु गरेका थिए । करिब ८–९ वर्षअघि कक्षा २–३ मा पढ्दै गर्दा उनले पोखराको ‘एब्सोल्युट तेक्वान्दो डोजाङ’ का प्रशिक्षक रेखमाया गुरुङको प्रशिक्षणमा खेल यात्रा सुरु गरेका हुन् ।
उनले आफ्नो पहिलो ठुलो प्रतियोगिताको रूपमा पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरिएको ‘माउन्ट एभरेस्ट इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’ लाई स्मरण गर्छन् ।
उक्त प्रतियोगिताको पुम्से विधामा सुरुमा राम्रो प्रदर्शन गरे तापनि भारतीय खेलाडीहरूसँगको कडा प्रतिस्पर्धाका कारण उनी उत्कृष्ट १० मा पर्न सफल भएनन् । सो असफलताले उनलाई निकै भावुक बनाए पनि त्यही क्षणबाट उनले आफूलाई अझ बलियो बनाएर लैजाने अठोट गरेको बताए ।
हाल ब्ल्याक बेल्ट ‘डान २’ को तहमा रहेका सुनारले करिब ४ वर्षअघि नै ब्ल्याक बेल्ट प्राप्त गरेका हुन् । निरन्तरको मेहेनत र लगावकै कारण उनी अहिले प्रतिष्ठित स्पोट्र्स अवार्डको ‘इमर्जिङ प्लेयर’ (उदीयमान खेलाडी) विधाको मनोनयनमा पर्न सफल भएका छन् ।
पहिलो पटक यसरी मनोनयनमा पर्दा उनी निकै उत्साहित र खुसी देखिएका छन् । उनले आगामी दिनमा तेक्वान्दो खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम राख्ने लक्ष्य रहेको बताए ।
उनले २०८२ सालमा १३ औं कोरियन एम्बास्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, कुक्कीवान कप तेक्वान्दो च्याम्पियनसिप, पहिलो मायाज गण्डकी प्रदेशस्तरीय ओपन लेभल तेक्वान्दो च्याम्पियनसिप (ग्रुप पुम्से र पेयर)मा स्वर्ण जितेका छन् ।
१५ औं राष्ट्रपति रनिङ शिल्डमा रजत, प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण, दोस्रो एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण र कास्यसहित १६ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेका छन् ।
निभा राई (ब्याटमिन्टन)
पोखराको बिरौटा बस्ने १५ वर्षीया निभा राई नेपाली ब्याडमिन्टन खेल क्षेत्रमा एक उदाउँदो नक्षत्रका रूपमा स्थापित छन् ।
निभाले १० वर्षको सानो उमेरदेखि नै ब्याडमिन्टनको ¥याकेट समात्न थालेकी हुन् । हाल पोखराको कुँडहरस्थित मैत्रीय पाठशालामा कक्षा १० मा अध्ययनरत उनी यस वर्षको माध्यमिक शिक्षा परीक्षा को तयारीसँगै आफ्नो खेल जीवनलाई पनि उत्तिकै सक्रियताका साथ अगाडि बढाइरहेकी छन् ।
निभाको खेल यात्राको सुरुवात रोचक छ । कोरोना महामारीका बेला उनका बुबा नरहरि राईले स्वास्थ्यका लागि टोलमै ब्याडमिन्टन खेल्ने गर्दथे । आफ्ना बुबालाई पछ्याउँदै खेल्न थालेकी निभाको रुचि बिस्तारै व्यावसायिक खेलतर्फ मोडियो ।
छोरीको खेलप्रतिको लगाव देखेर बुबा नरहरीले निभालाई पोखराकै प्रशिक्षक पुनम गुरुङको मातहतमा तालिम दिलाउन सुरु गरे । प्रशिक्षक गुरुङले प्रशिक्षणको ५–६ दिनमै निभाको असाधारण प्रतिभा पहिचान गरी उनलाई अझ बढि प्रशिक्षण दिनुपर्ने सल्लाह दिएका थिए ।
त्यसपछिको समय निभाका लागि उपलब्धिमुलक रह्यो । प्रशिक्षक पुनम गुरुङसँग प्रशिक्षण लिएको ९÷१० महिना मै उनले अन्डर–११ राष्ट्रिय च्याम्पियनसिपबाट आफ्नो विजयी यात्रा सुरु गरिन् । त्यसयता उनले अन्डर–१३ र अन्डर–१४ मा पनि च्याम्पियनको उपाधि हात पारिन् । हाल उनी अन्डर–१५ को नेपाल च्याम्पियन हुन् भने अन्डर–१९ उमेर समूहमा पनि उनी देशकै उत्कृष्ट पाँच भित्र पर्छिन् ।
राष्ट्रिय स्तरमा मात्र नभई निभाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । उनले यसअघि भुटान र पाकिस्तानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाएकी छिन् । उनी पाकिस्तानमा आयोजना हुने सार्क जुनियर ब्याटमिन्टससिपका लागि नेपालबाट छनोट भएकी थिइन् । तर, इरान र पाकिस्तानबीचको तनाव तथा भारत हुँदै जानुपर्ने मार्गको कठिनाइका कारण यसपटक भने उनी उक्त प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भइन् ।
यसबाहेक उनले २०८२ सालमा चौथो मोहन मोमोरियल ब्याटमिन्टन प्रतियोगिता, पहिलो टोखा नगरपालिका एण्ड डिबिए राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता र ट्यालेन्ट हन्ट च्याप्टर-२ यि तीन वटै प्रतियोगितामा समान स्वर्ण र कास्य जितेकी छिन् ।
उनी गत वर्ष नै सार्क जुनियर ब्याटमिन्टन च्याम्पियनसिपमा नेपालबाट छनोट भएकी भएर नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । २१ औं इन्द्रबहादुर गुरुङ मेमोरियलमा स्वर्ण, चौथो ललितपुर मेयर कपमा रजत, दोस्रो पोखरा मेयर कपमा रजत र कास्य, पहिलो बिलबहादुर अन्तर विद्यालय ब्याटमिन्टमा स्वर्ण र पाचौं मोहन मेमोरियलमा २ रजत जितेकी छिन् ।







