मौसमको कहरः यसवर्षको विपदमा १९ लाख प्रभावित हुनसक्ने अनुमान

यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च रहने आँकलन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औँल्याइएको छ । दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुन सक्ने जनाइएको छ ।

प्रतिवेदनमा मनसुन अवधिमा देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । प्रभावितमध्ये ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुष हुनसक्ने जनाइएको छ।

जोखिममा रहेका जनसङ्ख्यामध्ये पाँच वर्षमुनिका बालबालिका करिब एक लाख ६४ हजार, ६० वर्षमाथिका ज्येष्ठ नागरिक चार लाख १५ हजारभन्दा बढी तथा अपाङ्गता भएका व्यक्ति करिब ४८ हजार रहेको उल्लेख छ । प्रजनन उमेर समूहका महिलाको सङ्ख्या उल्लेख्य रहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रदेशगत विश्लेषण अनुसार कोशी, मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसुनजन्य विपद्को जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ । विपद् पूर्वतयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरिएको छ ।

प्राधिकरणका उप सचिव रामबहादुर केसीले मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । विभागका अनुसार यसवर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशका पश्चिमी भू-भाग तथा कोशी प्रदेशका मध्य भू(भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

कर्णाली र कोशी प्रदेशका उत्तरी भू–भागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आँकलन छ ।

अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न भू–भागमा सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । त्यस्तै, न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागको निष्कर्ष छ ।

विशेष गरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।

Scroll to Top