नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सुरु भएको छ ।
वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललले गरेका हुन् ।
उद्घाटनपछि उनले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गरे । उनले कलमको शक्तिले समाजलाई सही दिशा दिने र सरकारका कमजोरीहरूलाई औँल्याएर सुधारको बाटो देखाउने बताए ।
उनले भने, ‘कलमले जहिले पनि समाजलाई रूपान्तरण गर्ने काम गर्छ । पत्रकारिताले सरकार, समाज र विभिन्न संघसंस्थाका कमजोरी र राम्रा पक्षलाई केलाएर समाजलाई सही मार्गमा डो¥याउने काम गर्छ ।’
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रविधिको ठूलो प्रभाव परेको र ‘मोबाइल जर्नालिज्म’ को महत्व बढ्दै गएको बताए । पहिले हुलाकबाट पठाउनुपर्ने बाध्यता रहेकोमा अहिले प्रविधिको विकासले पत्रकारितालाई सहज र छिटो बनाएको उनले उल्लेख गरे ।
पत्रकारितालाई थप व्यवस्थित बनाउन महासंघले ‘समय आन्दोलन’ को अभियान समेत सुरु गरेको उनले बताए । तालिममा सहभागीहरुले प्रशिक्षकबाट धेरै प्रयोगात्मक ज्ञान हासिल गर्ने विश्वास समेत उनले व्यक्त गरे ।
तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा एआई प्रविधिको प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए । महासंघ कास्कीका सचिव भूपाल गुरुङले सञ्चालन गरेको उद्घाटन समारोहमा उपाध्यक्ष माधव रेग्मीले स्वागत गरेका थिए ।
पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिमको प्राविधिक सहयोगीमा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) रहेको छ । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ७५ जना पत्रकारहरु सहभागी छन् ।







