देशभरका यातायात व्यवसायीलाई मुमले भनेः -‘व्यवसायी र श्रमिकबीच समन्वय आवश्यक’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि पोखरामा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशनको उद्घाटन गर्दे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात क्षेत्र देशको अर्थतन्त्र, पर्यटन, रोजगारी र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताए ।

मुम पाण्डेले भने गण्डकी प्रदेश सरकारले समयानुकूल यातायात व्यवस्थापन, सेवा प्रवाहको सुधार र प्रविधिमैत्री प्रणाली विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

त्यस्तै, यातायात क्षेत्रमा देखिएका चुनौती, व्यवसायीका समस्या, सेवा व्यवस्थापन, सडक सुरक्षा तथा सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने विषयमा गण्डकी प्रदेश सरकार, व्यवसायी, श्रमिक र सरोकारवाला सबै पक्षबीच सहकार्य, समन्वय र विश्वास अझ सुदृढ हुन आवश्यक रहेको उनको भनाई छ ।

महासंघका अनुसार देशभरका ३ सय ८७ संस्थाबाट १५ सयभन्दा बढी मतदाता महाधिवेशनमा सहभागी छन् । पर्यवेक्षकसहित करिब ३ हजार ५ सयदेखि ४ हजारसम्म सहभागी जुट्ने अपेक्षा गरिएको छ ।

महाधिवेशनको मुख्य एजेन्डा १३ खर्ब रुपैयाँभन्दा बढीको निजी लगानी सुरक्षित गर्न कानुनी व्यवस्था संशोधन गर्ने, सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउने तथा व्यवसायलाई व्यवस्थित बनाउने रहेको महासंघले जनाएको छ ।

केन्द्रीय अध्यक्ष पदका आकांक्षीहरूले सार्वजनिक यातायातको भाडादर समायोजन, व्यवसायी एकीकरण, प्रविधिको प्रयोग विस्तार तथा लगानी संरक्षणलाई प्राथमिकतामा राखेका छन् ।

महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार यसपटक सहभागी संख्या चार वर्षअघि गोदावरीमा भएको छैटौं महाधिवेशनको तुलनामा झन्डै दोब्बर पुगेको छ ।

Scroll to Top