भारतका विदेश सचिव विक्रम मिस्रीको आगामी साता हुने प्रस्तावित काठमाण्डु भ्रमण तत्कालका लागि स्थगित भएपनि भारतले इन्टरनेशनल बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुन नेपाललाई निमन्त्रणा दिएको छ ।
यो शिखर सम्मेलन जुन १ मा नयाँ दिल्लीमा आयोजना हुँर्दैछ । सम्मेलनमा नेपालसहित सदस्य राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको छ । सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुने परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।
आईबीसीए भारतले सन् २०२३ अप्रिलमा प्रोजेक्ट टाइगरको ५०औँ वार्षिकोत्सवका अवसरमा सुरु गरेको एक वैश्विक गठबन्धन हो । यसको उद्देश्य विश्वका सात प्रमुख ठूला बिरालो प्रजातिका जनावरहरू(बाघ, सिंह, हिमचितुवा, चितुवा, जगुआर, प्यूमा र चीता)को संरक्षण र सम्वद्र्धन गर्नु हो ।
आईबीसीएमा नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, मलेसिया, मंगोलिया, इजिप्ट, केन्या, नाइजेरिया, युगान्डा, पेरु, सुरीनामसहित २४ देश सदस्य छन् ।







