श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामती सेवा र नेपाल स्वास्थ्य सेवाका ८ ट्रेड युनियन बुधबार खारेज गरेको छ ।
ती ट्रेड युनियन निजामती सेवा ऐन, २०४९ (तेस्रो संशोधन, २०७४) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भएको थियो ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको आधारमा विभागको निर्णयाधिकारीको २३ गतेको निर्णयबाट खारेज भएको सूचना प्रकाशित गरिएको हो ।
खारेज भएका कर्मचारीहरूको ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल रहेका छन् ।
यसैगरी, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल तथा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पनि खारेजीमा परेको हो ।







