धौलागिरी अस्पतालका चिकित्सकद्वारा आन्दोलनको चेतावनी, जेठ १ देखि ‘पेन डाउन’ गर्ने

बागलुङ । बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूले स्वास्थ्यकर्मीको सुरक्षा र अस्पतालको व्यवस्थापन सुधारको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै उनीहरूले आगामी जेठ १ गतेदेखि ‘पेन डाउन’ गर्ने बताएका हुन् ।

मेडिकल अफिसरहरूले अस्पताल प्रशासन र अस्पताल विकास समितिलाई पत्र बुझाउँदै वैशाख १९ गते डिउटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार प्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।

चालु आर्थिक वर्षभित्रै यस्ता घटना दुई पटक भइसकेको भन्दै उनीहरूले असुरक्षित वातावरणमा सेवा प्रदान गर्न कठिन भएको उल्लेख गरे ।

‘यस्तो वातावरणमा पूर्ण आत्मविश्वासका साथ सेवा प्रदान गर्न कठिन भइरहेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘अस्पताल प्रशासन र विकास समितिबाट स्वास्थ्यकर्मीको सुरक्षा तथा शान्तिपूर्ण कार्य वातावरणको स्पष्ट सुनिश्चितता गरिनु अनिवार्य छ ।’

चिकित्सकहरूले अस्पताल प्रशासन समक्ष चार बुँदे माग अघि सारेका छन् । उनीहरूले वैशाख १९ को घटनामा संलग्न दोषीमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न र आकस्मिक कक्षमा २४ घण्टा सुरक्षा गार्डको व्यवस्था गर्न माग गरे ।

यी मागहरू यही वैशाख ३१ गतेभित्र पूरा हुनुपर्ने उनीहरूको अडान छ । यस्तै, अस्पताल प्रशासन र विकास समितिले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्ने सम्बन्धमा स्पष्ट लिखित प्रतिबद्धता प्रदान गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् ।

विज्ञप्तीमा आकस्मिक कक्षमा ‘स्ट्यान्डर्ड ट्रायज प्रोटोकल’ (रेड, यल्लो, ग्रीन क्याटगोरीज) को प्रभावकारी कार्यान्वयन गर्न र आवश्यक जनशक्ति वृद्धि गर्न माग गरिएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय ‘ईआर’ प्रोटोकल बमोजिम कुनै पनि बिरामीलाई आकस्मिक कक्षमा ४–६ घण्टाभन्दा बढी नराखी अनिवार्य रूपमा ‘एडमिसन’, ‘डिस्चार्ज’ वा उच्च केन्द्रमा ‘रिफर’ गर्ने नीति कडाइका साथ लागू गर्न उनीहरूले माग गरे ।

मागहरू यथाशीघ्र सम्बोधन नगरिए सुरक्षित वातावरणको अभावमा सेवा प्रदान गर्न असमर्थ हुने चिकित्सकहरूले जनाए ।

उनीहरूले जेठ १ गतेदेखि सम्पूर्ण मेडिकल अफिसरहरूद्वारा ‘पेन डाउन’ कार्यक्रम सञ्चालन गर्ने र नियमित सेवामा उपस्थित हुन नसक्ने चेतावनी दिएका छन् ।


Scroll to Top