मानव सेवा आश्रमको आयोजनामा पोखरामा ‘१४ औं श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ’ सुरु भएको छ। पितृ मोक्ष तथा शान्तिको उद्देश्यले आयोजित यो महायज्ञ वैशाख २६ गतेसम्म पोखरा २५ हेमजामा सञ्चालन हुनेछ।
महायज्ञको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र गलेश्वर धामका पीठाधीश अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले संयुक्त रूपमा गरे।
महायज्ञ अवधिभर युवा पण्डित कमलनयन गौतमले दैनिक रूपमा कथा वाचन गर्नेछन्। महायज्ञमा प्रत्येक दिन बिहान ५:३० देखि ७:३० बजेसम्म निःशुल्क योग शिविर सञ्चालन हुनेछ।
त्यसैगरी बिहान ७ बजेदेखि पूजा तथा पाठ पारायण, ७:३० देखि १० बजेसम्म विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक कार्यक्रम, ११ बजेदेखि ४ बजेसम्म कथा वाचन, ४:१५ बजे आरती, ४:३० बजे प्रसाद वितरण तथा साँझ ७ देखि ९ बजेसम्म भजन कार्यक्रम तय गरिएको छ।
महायज्ञमा प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन हुने आश्रमले जनाए।
महायज्ञमा संकलन भएको रकम मानव सेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष श्रीवृद्धिका लागि खर्च गरिनेछ। हाल आश्रमको भवन निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भइसकेको छ।
यो निर्माण कार्य पोखरा महानगरपालिका, प्रदेश र संघीय सरकारको सहयोगका साथै विभिन्न दाताहरूको योगदानबाट अघि बढेको जानकारी दिइएको छ।
मानव सेवा आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त तथा अभिभावकविहीन बालबालिका र सडक मानवहरूको उद्धार, संरक्षण, औषधोपचार तथा पुनःस्थापनाको क्षेत्रमा काम गर्दै आइरहेको छ।







