काठमाडौँ महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति वि. सं. २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो ।
पुरातत्व बिभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो ।
संग्रहालयमा राखिएको मूर्तिलाई मूल स्थानमा ल्याउन वैशाख १७ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल वडा नं. २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनसहित सरोकारवाला कार्यालयका अधिकारीसहित संग्रहालय पुगेका थिए ।
यस क्रममा पुरातत्व विभागका प्रतिनिधि, न्हुछे बहाका गुठीयार अमर शाक्य, सम्पदा अभियानकर्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारी सहभागी थिए ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क) बमोजिम मूर्तिको सुरक्षा तथा संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने कागजी प्रक्रिया पूरा गरी राष्ट्रिय संग्रहालयका प्रमुखअरुणा नकर्मीले वुद्ध मूर्ति हस्तान्तरण गरे ।
मूर्तिलाई त्यस दिन हनुमानढोका हेरचाह अड्डामा राखिएको थियो । यसरी राखिएको मूर्ति वैशाख १८ गते वुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरियो ।
हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख डंगोल, वडाध्यक्ष महर्जन, जनप्रतिनिधिहरु, सम्पदा अभियन्ताहरु, गुठि खल पुचका प्रतिनिधिहरुले बाजागाजासहित उत्सव गरेका थिए ।
उत्सवमा सहभागी कार्यवाहक प्रमुख डंगोलले, मूर्तिहरुको सुन्दरता बस्ती र चोकहरुमा हुने बताए ।
त्यस अवसरमा वडा २३ का अध्यक्ष महर्जनले, मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठुलो योगदान पुगेको उल्लेख गरे ।
चोरिएका मूर्ति तथा कलात्मक बस्तुलाई मूल स्थानमा पुनःस्थापना गरेको यो तेस्रो सम्पत्ति हो । यस अघि कुमारी घरको तोरण र गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरीरपार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ ।
यसरी मूर्ति फिर्ता गराउन काठमाडौँ महानगरपालिकाले सरोकारवाला तथा साझेदार कार्यालयका प्रतिनिधिहरुसँग छलफल, कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने गरेको छ ।







