पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका सार्वजनिक, ऐलानी र पर्ती जग्गा संरक्षणका लागि नगरवासीहरूसँग सूचना मागेको छ ।
महानगरले नगर क्षेत्रका यस्ता जग्गाहरू अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्यमा सहयोग गर्न आह्वान गरेको हो ।
महानगरपालिकाले सार्वजनिक तथा ऐलानी जग्गा संरक्षणमा आफूहरू प्रतिबद्ध रहेको बताएको छ ।
विभिन्न व्यक्ति र संस्थाहरूले लामो समयदेखि यस्ता जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको, घेराबार लगाएको र विभिन्न प्रयोजनमा उपयोग गरिरहेकाले ती संरचना तत्काल हटाउन महानगरले यसअघि नै सूचना प्रकाशन गरिसकेको उल्लेख गरेको छ ।
आफ्नो छरछिमेकमा कसैले सार्वजनिक वा ऐलानी जग्गा अतिक्रमण गरी संरचना बनाएको, घेराबार गरेको, भाडामा लगाएको वा अन्य कुनै प्रयोजनमा उपयोग गरिरहेको जानकारी भएमा महानगरलाई खबर गर्न नगरवासीहरूमा आग्रह गरिएको छ।
यस्तो जानकारी इमेल, टेलिफोन, ह्वाट्सएप, भाइबर वा सिधै महानगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा दिन सकिने आज जारी अपीलमा उल्लेख छ ।
महानगरले सूचना दिने व्यक्तिले आफ्नो पहिचान खुलाएर वा गोप्यरूपमा जानकारी गराउन सक्ने व्यवस्था गरेको जनाएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले महानगरले यो कदम चालेको बताएको छ।
यस्तो छ सुचना दिने ठेगानाः
इमेलः [email protected]
फोन नं.: ०६१–५७११०४
मोबाइल नं.: ९८०१५५२४७१,९८४६०४०७५१ (Whatsapp/Viber/Message)
पोखरा महानगरपालिका







