पर्यटकीय नगरी पोखराको पृथ्वीचोकमा २०३२ सालमा प्रस्ताव गरिएको पोखरा बसपार्क राजनीतिक खिचातानीकाकारण अझसम्म बन्न नसक्दा पोखरा नाम अनुसारको बन्न सकेको छैन । पोखरा उपत्यका नगर विकास समितिले प्रस्तावित पोखरा बसपार्क निर्माणका लागि प्रस्ताव गरेको करिव ८१ रोपनी जग्गामा कास्कीका पञ्चायतकालीन राजनीतिज्ञहरुदेखि लोकतान्त्रिक समयका विभिन्न राजनीतिज्ञ एवं दलहरुको आड भरोसामा भू–माफिया र सुकुम्बासीहरुले कब्जा जमाएर बसेका छन् । सुकुम्बासीहरुको अतिक्रमणलाई हटाएर बसपार्क निर्माण गर्न सरोकारवालाहरुको चासो दिनानुदिन घट्दै गइरहेको छ ।
सिद्धार्थ र पृथ्वी राजमार्गको निर्माण भए पछि पोखरामा बसपार्कको आवश्यकतालाई महशुुस गरी पोखरा उपत्यका नगर विकास समितिले तीन दशक अघि नेपाल राजपत्रमा सूचना प्रकासित गरी सर्वसाधारणको करिव १ सय ८७ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तत्कालीन मन्त्रालयले जग्गाधनीलाई मुआव्जा बापत रकम उपलब्ध नगराएको र नगर विकास समितिसँग अन्य श्रोतहरु केही नभएकाले पृथ्वी राजमार्ग मोहडा पारेर पोखरा उपत्यका नगर विकास समितिले जग्गाधनीहरुलाई करिब ३८ रोपनी जग्गा बाँडेको थियो ।
जसमध्ये लगभग ६५ रोपनी जग्गा सेती नदीको किनारमा धाँजा फाटेर बेकम्मा भएको छ । बसपार्क निर्माणका लागि प्रस्ताव गरिएको ८१ रोपनी जग्गा भू–माफिया र सुकुम्बासीहरुको कब्जामा छ । बेलैमा उनीहरुलाई विस्थापन गर्नको सट्टा त्यसैमा राजनीति गर्न लालयित बनेका कारण पोखरा बसपार्कको निर्माण अन्यौलमा रहेको छ ।
राजनीतिक दलहरुले सुकुम्बासीको प्रयोग गर्दा बसपार्क बन्न नसकेको तथ्यलाई दलहरुले मनन् गर्दै बसपार्क निर्माणमा तदारुकताका साथ नलागे आगामी दिनमा बसपार्कको कल्पना पनि गर्न नसकिने दिन आउने अवश्यम्भावी छ । स्थानीय प्रशासनले बसपार्क खाली गरिदिने हो भने निर्माण कार्यको थालनी तुरुन्तै हुनेछ ।
समितिमा राजनीतिक नियुक्ति हुने परिपाटी नै बसपार्क बन्न नसक्नुको प्रमुख कारण भएको जो कोहीले आँकलन गर्न सक्छ । देशका अन्य भागमा राजनीति गर्नेहरुले के–कस्तो विषयवस्तुको खोजी गर्लान् यसै भन्न नसकेपनि पोखरामा राजनीति गर्नेहरुलाई भने यहाँ रहेको बसपार्क मुख्य एजेण्डा बन्ने गरेको छ । अझैपनि बसपार्क निर्माणका लागि दलहरुले सहयोग नगर्ने हो भने राजनीति फोहोरी खेल हो भन्नुमा अत्युक्ति नहोला ।
तर, यसै अन्योलबीच प्रधानमन्त्री बालेन्द्र साहले काठमाडौंको थापाथली र मनोहरको बस्ती खाली गरेपछि पोखरा बसपार्कमा रहेको सुकुम्बासीबीच खैलाबैला भएको छ । अबको पालो पोखरा बसपार्क खाली गर्ने सम्भावना बढेसँगै पोखरामा अत्याधुनिक बसपार्क बन्ने आशा जागेको छ ।
यद्यपि, काठमाण्डौंमा रहेका सुकुम्बासीलाई यथोचित व्यवस्था नगरेसम्म सकारले पोखरा बसपार्कमा धावा बोल्न अझै कठिन छ । पोखरा बसपार्कका सुकुम्बासीसँगै कास्कीका सम्पूण्र्ण सुकुम्बासीलाई पनि एकसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले तत्काल पोखरा बसपार्क खाली गर्न तीनै तहका सरकारलाई कठिन हुनेछ ।
(इन्सेटः पोखरा बसपार्क गुरुयोजनाको नक्सा)







