महिला फुटबलको व्यावसायिक विकासलाई लक्षित गर्दै आरएस पोखरा फुटबल क्लबले ‘प्रथम पोखरा महिला गोल्डकप’को आयोजना गर्ने भएको छ ।
यहि बैशाख १८ देखि २० गतेसम्म पहिलो पटक पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताबारे क्लबले सम्पूर्ण तयारी पुरा गरेको छ ।
सम्पन्न भएको जानकारी दिएको हो ।
प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबल क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र संकटा क्लब सहभागी हुने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिएका छन् ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको सहभागिता रहने भएकाले खेल प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ ।
क्लबका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख २५ हजार ५ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब ३२ लाख ५ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । आर्थिक रूपमा सफल बनाउन विभिन्न आम्दानीका स्रोतहरू पहिचान गरिएको छ ।
उपाधि विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँ, अनुशासित टोलीले २५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५र१५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
मुख्य आम्दानीका स्रोतहरूमा मुख्य तथा सह–प्रायोजन, सरकारी सहयोग, टिकट बिक्री, विज्ञापन तथा होर्डिङ बोर्ड, डिजिटल तथा मिडिया पार्टनरसिप, साथै व्यक्तिगत तथा संस्थागत सहयोग रहेका छन् ।
संकलित रकम पुरस्कार, खेलाडीहरूको आवास तथा भोजन, प्रशिक्षण, खेल चिकित्सा सेवा र प्रतियोगिताको प्राविधिक व्यवस्थापनमा खर्च गरिने क्लबले जनाएको छ ।
आयोजक आरएस क्लब एन्फा महिला लिग क्वालिफायर २०२५ मा छनोट भएको टिम समेत हो ।








