गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ ।
गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)सँगको सहकार्यमा गोरखाको आँपपीपल अस्पतालमा एचए र बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित मन्त्रालयका पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, सम्बन्धित अस्पताल र ‘सिटीइभिटी’का प्रतिनिधिसहित सोमबार मन्त्रालयमा बसेको संयुक्त बैठकले एचए र स्टाफ नर्सको पढाइ सञ्चालनका लागि तदारुकताका साथ तयारी अगाडि बढाउने निर्णय गरेको मन्त्रालयका अतिरिक्त प्रदेश सचिव खिमबहादुर खड्काले बताए।
‘गत वर्ष नै पढाइ सञ्चालन गर्ने तयारी थियो, अनुमति लिने प्रक्रिया लम्बिएकाले सुरु हुन सकेन’, उनले भने, ‘मन्त्रालय र सिटीइभिटीबीच तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ, हामी त्यसमै लागिपरिरहेका छौँ ।’
‘सिटीइभिटी’ गण्डकी प्रदेश कार्यालयका प्रमुख शारदा घिमिरेले परिषद्को आगामी बैठकमा प्रस्ताव पेस गर्नेगरी तयारी भइरहेको बताए। शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले अनुमति दिने निर्णय गरेपछि पढाइ सञ्चालन हुने उनको भनाइ छ ।
‘प्रस्ताव तयार छ, परिषद्को आगामी बैठकमा पेस हुन्छ’, प्रमुख घिमिरेले भने, ‘स्टाफ नर्स र एचए पढाउन सिटीइभिटी र प्रदेश सरकार तयारी अवस्थामा छ ।’







