गुलियो चिया ‘तीतो’ पनि हुनसक्छ – डा. बराल

चिया, नेपाली समाजको स्वाद र संस्कृति हो । आतीथ्यताको प्रमुख पेय मानिने चिया अचेल रेष्टुरेन्टको मेनुमा फ्यूजन ‘रेसिपी’ बनेको छ ।

चिया गाउँ, सहर हुँदै बजारका भिन्न आउटलेटमा फरकफरक प्रकारको ‘बिजनेश’ पनि हो । बिहान उठेपछि दिनको सुरुवात नै चियाको चुस्कीबाट सुरु गर्ने परम्परा बनिसकेको छ । तर चिया कति पिउने ? कस्तो पिउने ? भन्ने बुझाईमा एक मत छैन ।

‘वास्तवमै, चिया कति पिउने ?’ पेट, तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बराल भन्छन् ‘चिया कति पिउने भन्ने कुरा चियाको प्रकारमा भर पर्छ, हामी चिया पिउँदा दूध र चिनीपनि सेवन गरिरहेका हुन्छौं । यसर्थ, यसको मात्रा चिया पारखीमा निर्भर हुन्छ ।’

सामान्यतयः २-३ कप चियाले स्वास्थ्यमा प्रतिकुल असर नपार्ने बताउँदै डा. बरालले मान्छेको रोग, उमेर र शरिरको प्रकृतिले फरक प्रभाव पार्न सक्ने बताए ।

यद्यपि, बिहान उठ्नेबित्तिकै खाली पेटमा दूध र चिनी मिसाइएको चियाले कालान्तरमा असर पार्ने सम्भावना प्रबल रहेको गण्डकी मेडिकल कलेज (जीएमसी)का एशोसियट प्रोफेसरसमेत रहेका बरालको धारणा छ ।

आम नेपालीमा ग्यास्ट्रिक सामान्य देखिएकाबेला खाली पेटमा दूध चिया सेवन नगर्नु नै उचित हुने डा. बराल बताउँछन् ।

‘मुटुमा समस्या छ, अल्सर छ, अमिलो पानी आउँछ भने सकेसम्म चिया नपिउनुहोस्’ डा. बराल भन्छन् ‘अन्यथा, खानापछि चिया पिउँदा समस्या हुँदैन ।’ त्यस्तै, चियाको हकमा लेमन, जिंजर, ग्रीन टी भनिने चियाले शरिरलाई फाइदा हुने उनले बताए ।

जति धेरै चिया पिउँदै गयो त्यति नै चिनीको मात्राकाकारण गुलियो मानिने चियाको स्वाद पछि तीतो हुनसक्ने सुझाउँदै उनले भनेका छन् ‘मोटोपना बढाउने, पाचनशक्ति कमजोर बनाउने, कलेजो कमजोर बनाउने र मुटुमासमेत समस्या देखिने सम्भावना अधिक रहन्छ ।’

चिया पिउँदा तातो पिउने चलनले खानाको नलीमा जलन हुने र क्यान्सरको जोखिम बढाउनसक्ने उनले सुझाएका छन् । पछिल्लो समय केही समुदायमा चिनीको सट्टा नुन हालेको चिया प्रचलनमा रहेको बताउँदै बरालले उमेर र रोगअनुसार त्यसले फाइँदा र बेफाइँदा दुबै हुनसक्ने औंल्याए ।

प्रायः औषधिको प्रयोग गर्दा चिकित्सकले खाली पेटमा नखाने सल्लाह पाएका बिरामीले चिया सेवन गर्ने पाइएकाले सम्बन्धित व्यक्तिले त्यसबारे पहिलै सल्लाह लिनुपर्ने उनको भनाई छ ।

चियाका पारखीले समयसमयमा शारीरिक जाँच गराउन आवश्यक रहेको सुझाउँदै डा. बराल भन्छन् ‘युवा जमातले चियासँगै धुम्रपान सेवनसमेत गर्ने पाइएकाले गुलियो स्वाद तीतोमा परिणत भई युवावस्थामै रोगको शिकार हुन सकिन्छ ।’

Scroll to Top