चुनावी क्षेत्रमा निरन्तर पौडेल, २० मा पूर्वाधार र पर्यटनको चर्चा

कास्की क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेल आफ्नो चुनावी क्षेत्रमा निरन्तर भेटघाट र अन्तरक्रियामा जुटेका छन् ।

यसैबीच, पौडेलले पोखरा वडा नम्बर २० अन्तरगत आँटिघर, मौजा, मोहरिया र लामडाँडा क्षेत्रका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे चासो लिएका छन् ।

सोहीक्रममा सांसद पौडेलले पोखरा-२० र मादी जोड्ने पुलको आवश्यकता तथा लामडाँडा–मौजा–मोहोरिया–हिमालय मावि–मन्छाप–हाइ अल्टिच्युड खेल मैदान (तोङ्यो ढाप) हुँदै घगम थान मन्दिर जाने १९ किलोमिटर सडकको अवस्थाबारे स्थलगत जानकारी लिए ।

नागरिकको जीवन सहज बनाउन पूर्वाधार पहिलो शर्त भएको उल्लेख गर्दै उनले भने, ‘यी आयोजनाहरूको निर्माण मेरो प्राथमिकतामा रहनेछ। विकासका कामहरू कुनै पनि तहमा कतै पनि अड्कन नदिने गरी म खट्नेछु।’

सांसद पौडेलले उक्त क्षेत्र होमस्टे र पर्या-पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको विकासका लागि नीतिगत तहमा देखिएका अवरोधहरू हटाउन लाग्ने प्रतिवद्धता जनाए ।


आफ्नो भूमिका नीति निर्माणमा मात्र सीमित नरहने स्पष्ट पार्दै उनले भने ‘विकासका कामहरूमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नागरिकको साथमा रहेर सहकार्य गर्न म प्रतिबद्ध छु। तपाईँहरूको आशा र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ।’

आफ्नो शक्ति नै जनताको साथ र सहयोग भएको बताउँदै उनले साझा, सुन्दर भविष्य निर्माणको यात्रामा निरन्तर नागरिकहरूसँगै रहने संकल्प समेत व्यक्त गरेका छन् ।

Scroll to Top