नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत मत्स्य अनुसन्धान केन्द्र, वेगनास, पोखराको आयोजनामा सञ्चालित दुई दिने कृषकस्तरीय मोती खेती तालिम सम्पन्न भएको छ ।
कृषकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमले स्थानीय स्तरमा नयाँ प्रविधि भित्र्याउने, सीप अभिवृद्धि गर्ने तथा आयआर्जनका वैकल्पिक स्रोत विस्तार गर्ने लक्ष्य लिएको थियो ।
तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि नार्ककी डाइरेक्टर डा. निना अमात्य गोर्खालीले मोती खेतीलाई विज्ञानमा आधारित, सम्भावनायुक्त र दिगो व्यवसायका रूपमा व्याख्या गरिन् ।
प्राकृतिक स्रोतको सदुपयोग गर्दै मोती उत्पादन गर्न सकिने र यसले आर्थिक तथा वातावरणीय दुवै लाभ दिने उनको धारणा छ । ‘मोती खेतीमा समस्या आएमा नार्कले प्राविधिक सहयोग उपलब्ध गराउँछ, हाम्रो काम ज्ञानलाई पूर्णता दिनु हो’, गोर्खालीले भनिन् ।
मत्स्य अनुसन्धान केन्द्र पोखराका वरिष्ठ वैज्ञानिक डा. मोहम्मद इकवाल हुसेनले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न सके मात्र यसको वास्तविक उपलब्धि देखिने धारणा राखे ।
उनले रूपाताल क्षेत्रलाई मोती उत्पादनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिँदै स्थानीय सिपीको संरक्षण, प्रजनन विस्तार तथा दिगो उपयोगमा जोड दिनुपर्ने बताए ।
हुसेनले पछिल्लो समय स्थानीय सिपीको संख्या घट्दै गइरहेको बताउँदै कृषकलाई नवीन उद्यमशीलतामा जोड्दै व्यावसायिक रूपमा मोती उत्पादनतर्फ उन्मुख हुन आग्रह गरे ।
तालिममा सहभागी कृषकहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासमार्फत महत्वपूर्ण सीप हासिल गरेका छन् । प्रशिक्षण अवधिमा ताजा पानीमा पाइने सिपीको पहिचान, पालन–पोषण, न्यूक्लियस प्रत्यारोपण प्रक्रिया तथा त्यसपछि आवश्यक हेरचाहका विधिहरू सिकाइएको छ ।
मोतिपालक कृषक कविराज खनाल, ढकबहादुर थापा, र कृषक सितादेवी डुम्रे लगायतले तालिमबाट आफूहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको अनुभव व्यक्त गरे ।
उनीहरूले मोती खेतीलाई वैकल्पिक आयस्रोतका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा व्यवहारमा उतार्ने बताएका छन् ।







