गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले लामो समयदेखि सडक निर्माण कार्य अलपत्र पारेका दुईवटा निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भन्दै ७ दिने अल्टिमेटम दिएको छ ।
कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सन्तोषजनक रुपमा काम नगर्ने र म्याद थपका लागि समेत चासो नदेखाउने निर्माण व्यवसायीलाई ठेक्का अन्त्य गरी कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।
कार्यालयले कास्कीको पुम्दीभुम्दी स्याङ्जाको फेदीखोला सडक र फुस्रेखोला-रामदी-मट्टीखान-देउराली सडक निर्माणको जिम्मा पाएका कम्पनीहरुलाई अन्तिम मौका दिएको छ ।
डिभिजन सडक कार्यालय पोखराबाट सम्झौता भई पछि पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएका यी आयोजनामा निर्माण व्यवसायीले चरम लापरबाही गरेको कार्यालयको ठहर छ ।
पुम्दीभुम्दी स्याङ्जाको फेदीखोला सडक निर्माणको ठेक्का शंकरमाली निर्माण सेवा प्राली काठमाडौंले लिएको थियो ।
यस्तै, फुस्रेखोला-रामदी-मट्टीखान-देउराली सडकको ० देखि १४.५ किलोमिटर खण्ड निर्माणको जिम्मा एसबीए/साप/सिरुवा जेभी काठमाडौंले पाएको थियो । यी दुवै कम्पनीले लामो समयदेखि निर्माण कार्य सम्पन्न गर्न कुनै तत्परता नदेखाएको सूचनामा उल्लेख छ ।
कार्यालयले सूचनामा भनेको छ, ‘लामो समयदेखि निर्माण कार्य सम्पन्न गर्न प्रयास नगरेको, अनुरोध गर्दा पनि प्रगति सन्तोषजनक नपाइएको र म्याद थपका लागि भ्यालिड डकुमेन्ट्स सहित प्रयास नगरेकाले यो कारबाही अगाडि बढाइएको हो ।’
सार्वजनिक खरिद नियमावली २०६४ र सार्वजनिक खरिद ऐन २०६३ को प्रावधान अनुसार ठेक्का किन नतोड्ने भन्ने विश्वसनीय स्पष्टीकरण ७ दिनभित्र पेश गर्न कार्यालयले निर्देशन दिएको छ ।
यस्तै, स्पष्टीकरणसँगै आगामी १५ दिनभित्र निर्माणस्थलमा पूर्णरुपमा उपकरण र जनशक्ति परिचालन गरी काम सुरु गर्न समेत भनिएको छ । तोकिएको समयमा चित्तबुझ्दो जवाफ नआए वा काम सुरु नभए प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गरिने कार्यालयले जनाएको छ ।
ठेक्का तोडिएमा निर्माण कम्पनीको धरौटी र कार्य सम्पादन जमानत जफत गरिनेछ । साथै, कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने र बाँकी रहेको काम सम्पन्न गर्न लाग्ने थप खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित निर्माण व्यवसायीबाटै असुल उपर गरिने कार्यालयले चेतावनी दिएको छ ।
विशेषगरी फुस्रेखोला रामदी मट्टीखान सडक खण्ड निर्माणमा भएको ढिलाइले स्थानीय बासिन्दा र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।
हिउँदमा धुलो र बर्खामा हिलोका कारण यो भेगको जनजीवन प्रभावित बनेको छ । निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर काम रोक्दा आयोजनाको लागत र समय दुवै बढ्दै गएको छ । मट्टीखान क्षेत्रका स्थानीयले सडक निर्माण छिटो सक्न पटक-पटक दबाब दिँदै आएका थिए ।







