… अनि पोखराकै हितमा जन्मियो ‘वी पोखरा’

‘म’ हैन ‘हामी’ भन्ने सोंच विकास नभएसम्म आफ्नो ठाउँ सभ्य, सुसंस्कृत हुन सक्दैन भन्ने बुझाइलाई यथार्थमा परिणत गर्ने र गरेर देखाउने उद्देश्य अनुरुप नयाँ संस्था जन्मिएको छ ‘वी पोखरा ।’

पछिल्लो समय ‘वी पोखरा’को सक्रियता लोभलाग्दो छ । ‘पोखरा फस्र्ट’ भन्ने नारालाई पच्छ्याउँदै सामाजिक काममा जुटिरहेका युवाहरुले समाजबाट उत्तिकै साथसमेत पाउँदै आएका छन् ।

‘वी पोखरा’को इतिहास बुझ्न पोखरामा सक्रिय रहेको अर्काे संंस्था यूनाइटेड क्लबको चर्चा नगरी सुखै छैन ।

यूनाइटेड त्यही क्लब हो, जसले पोखरा महोत्सवमार्फत यहाँको व्यापार, पोखरा र पोखरेलीकोे पहिचान स्थापित गरेको छ । सत्र वर्षअघि यूनाइटेडमै सक्रिय युवाहरु अब पोखरालाई पहिलो प्राथमिकता दिने अभिप्रायले ‘वी पोखरा’को छातामा जुटिरहेका छन् ।

‘वी पोखरा’का अध्यक्ष आनन्द थापा भन्छन् ‘हामी २० वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय छौं, केही घटनाकाकारण पोखराका छवि धमिलिने आशंकाले हामी एउटै प्लेटफर्ममा जुट्ने अवाधारणामा अघि बढेका हौं ।’

यही सोंचले सिमित युवाको सक्रियतामा सुरु भएको संस्था आज ३ सय बढी सदस्य समेट्न सफल भएको छ । र, यहाँ आबद्ध हुने इच्छुकहरु दिनानुदिन बढिरहेको अध्यक्ष थापा सुनाउँछन् ।

त्यस्तै, ‘वी पोखरा’मा हाल विदेशमा रहेका पोखरेलीहरु पनि विभिन्न स्वरुपमा सक्रिय रहेको उनको भनाई छ ।


संस्थाका सदस्य बढ्दै जाँदा यसले गर्ने कामहरुको बायोडाटा पनि बढिरहेको छ । सामाजिक कार्यमा संस्थाका सदस्यसँगै आर्थिक जोहो गर्नुपर्ने बाध्यता पनि उत्तिकै छ ।

‘आखिर कसरी जुटिरहेको छ खर्च ?’ यस विषयमा सचिव दिनेश सुनार भन्छन् ‘सुरुमा सम्पूर्ण खर्च अध्यक्षले नै व्यहोर्नुभयो, हाल संस्था दर्ता भएपछि सदस्यता शुल्क, डोनेशन, वी पोखराको टि–शर्ट बिक्रीलगायतका अभियान मुख्य आर्थिक स्रोत बनेका छन्।’

त्यस्तै, संस्थाको वेबसाइटसमेत सुरु गरिएकोले अब व्यवस्थितरुपमै सहयोग संकलन गर्ने योजना रहेको सचिव सुनार बताउँछन् । आय र व्ययको हिसाब पारदर्शी ढंगले सार्वजनिक गर्ने संस्थाको भनाई छ ।

‘वी पोखरा’ मुलतः समुदायबीच एकता, सामाजिक सचेतना, शहरको सुरक्षा, युवा सशक्तीकरण, र पोखराको इतिहास तथा संस्कृतिप्रति माया बढाउनेतर्फ केन्द्रित रहेको छ। साथै, युवालाई अवसर सिर्जना गर्ने र शहरलाई सकारात्मक दिशामा अघि बढाउने प्रयास जारी रहने संस्था बताउँछ ।

‘वी पोखरा’ले गरेको काम गर्न सरकारका विभिन्न तहका संरचना छन्, ‘आखिर किन वी पोखरा ?’ जवाफमा अध्यक्ष थापा भन्छन् ‘हामी सरकारको विकल्प होइनौं, बरु सहकार्य गर्ने शक्ति हौं। सचेत नागरिकबिना कुनै पनि सरकारले प्रभावकारी काम गर्न सक्दैन।’

सोहीकारण समुदायलाई एकजुट गर्दै युवालाई आफ्नो जिम्मेवारी बुझ्न प्रेरित गर्ने र साझा जिम्मेवारीको बोध गर्ने, गराउने संस्थाको लक्ष्य छ ।

आगामी दिन डिजिटल युगलाई ध्यानमा राख्दै ‘वी पोखरा एपमार्फत विश्वभरका पोखरेलीलाई जोड्ने, सामाजिक सुरक्षा र सहयोगको नेटवर्क बनाउने, नयाँ उद्यमी, कलाकार तथा युवालाई प्रोत्साहन गर्ने, र देशमै अवसर सिर्जना गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए ।

थापाले थपे ‘दीगो र आत्मनिर्भर पोखरा निर्माणतर्फ हाम्रो योजना केन्द्रित छ।’

भोकालाई खाना, हराएका आफन्तलाई काख, फेवताल सरसफाई, फिर्के सफाई र रक्तदानसँगै ‘वी पोखरा’को अभियान आजका दिनसम्म विभिन्न वडामा फैलिइसकेको छ । त्यस्तै, वडावासी र युवाहरु संस्थामा जोडिन चाहिरहेको तथ्यांक बढ्दो छ ।

‘पोखरा केवल पहिचानमात्र नभएर, जिम्मेवारी पनि हो’ भन्नेमा विश्वस्त संस्थाले पोखरालाई राजनीतिक खेल मैदान नभई शान्ति र सकारात्मक उर्जाको केन्द्र बन्नुपर्नेमा जोड दिएको छ ।

स्वच्छ र सुरक्षित पोखरा निर्माणमा जुट्न सम्पूर्णलाई अपील गर्दै थापाले प्रश्न गरेका छन् ‘पोखरालाई हामीले संरक्षण नगरे कसले गर्छ ?’

Scroll to Top