नेपाल मेडिकल काउन्सिलले विभिन्न सामाजिक संजालमार्फत बिरामीको भिडियो सामग्री सार्वजनिक गर्ने र औषधि सिफारिस गर्ने चिकित्सकहरूको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता माध्यमबाट ‘अनलाइन परामर्श’ को नाममा गरिने यस्ता क्रियाकलापले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने काउन्सिलले बताएको छ ।
काउन्सिलले एक सूचना जारी गर्दै स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकोले बिरामीको उचित परीक्षण र प्रत्यक्ष मूल्यांकन बिना औषधि सेवनको सुझाव दिनु गैरजिम्मेवार र अवैज्ञानिक कार्य भएको उल्लेख गरेको छ । यस्ता कार्यले सर्वसाधारणलाई भ्रममा पार्ने र गलत औषधिको प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च रहने तथ्य काउन्सिलले स्मरण गराएको छ ।
काउन्सिलले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्न निर्देशन दिएको छ । भिडियो सार्वजनिक गर्नैपर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान नखुलाउन भनिएको छ ।
त्यसैगरी, सामाजिक संजालमार्फत परीक्षण बिना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न र स्वास्थ्य सम्बन्धी जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिइएको छ ।
बिरामीहरूलाई पनि सामाजिक संजालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगर्न काउन्सिलले आग्रह गरेको छ । बिरामीले योग्य तथा दर्ता प्राप्त चिकित्सकसँग मात्र परामर्श लिनुपर्ने काउन्सिलको भनाइ छ ।
काउन्सिलका रजिस्ट्रार डा सतिस कुमार देवले जारी गरेको सूचनामा उल्लेखित कार्यहरू गरेमा काउन्सिलको ऐन तथा प्रचलित कानुन र नियमानुसार कारबाही गरिने चेतावनी दिइएको छ ।







