janapriya-school-ph2.jpg

जनप्रिय माविमा नवनिर्वाचित समितिको पदस्थापना

पोखरा, ४ वैशाख । पोखरा ८ सिमलचौर स्थित जनप्रिय माध्यमिक विद्यालयमा गठन भएको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदस्थापना भएको छ । विद्यालयको चौतर्फी हित गर्न गठित समितिका सदस्यलाई पदस्थापना गरिएको विद्यालयका प्रअ देवीप्रसाद वस्ताकोटीले जानकारी दिए ।

निवर्तमान बनेका अध्यक्ष परशुराम बरालले नवनिर्वाचित अध्यक्ष ईश्वरप्रसाद सुवेदीलाई पदस्थापना गराउँदै माइनुट समेत हस्तान्तरण गरेका थिए । व्यवस्थापन समितिमा सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी, शुष्मा खनाल सिग्देल र वसन्तप्रसाद सिग्देल रहेका छन् ।
विद्यालयको सभाहलमा भएको कार्यक्रममा नवनिर्वाचित शिक्षक अभिभावक संघको अध्यक्ष केदार धमला तथा संघका सदस्यहरु कवितादेवी ढकाल रेग्मी, रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ र सपना पराजुलीलाई पदस्थापन गरिएको विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले जानकारी दिए ।

पदस्थापना समारोहमा पोखरा महानगर वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको प्रगति र उन्नतीको लागि निरन्तर सहयोग गर्न वडा तयार रहेको बताउँदै विद्यालयलाई करोडौं रुपैयाँ आवश्यक परे लगानी गर्न तयार रहेको बताए । शिक्षा नियमावली २०७४ को विभिन्न नियम तथा विनियम अनुरुप विद्यार्थीको हितमा विद्यालयले गर्नु पर्ने शैक्षिक गतिविधि अन्तर्गत विद्यालयलाई नमुना बनाउन विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटी आफू विद्यालय व्यवस्थापन समिति तथा संघको सदस्य सचिव भएको नाताले सवै कसरत गर्ने उल्लेख गरेका थिए ।

पदस्थापन कार्यक्रममा प्रअ वस्ताकोटीले कास्कीको मात्र नभई राष्ट्रलाई योगदान दिन सक्ने शैक्षिक एवं योग्य जनशक्ति उत्पादन गर्न विद्यालयले रचनात्मक शैक्षिक कार्यक्रम ल्याउन विव्यासले पूर्ण सहयोग गर्नेमा आफू विश्वस्त भएको बताए । विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले सञ्चालन गरेको पदस्थापन कार्यक्रममा प्रतिवद्धता जनाउँदै नवर्निवाचित अध्यक्ष ईश्वर प्रसाद सुवेदीले विद्यालयलाई पूर्ण सहयोग रहने धारणा राखेका थिए ।

पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष केदार धमलाले विद्यालय सधै पहिलो भन्ने मान्यता ग्रहण गर्न शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेका थिए । शैक्षिक सत्र सुरुवातमा पुस्तक वितरण, भर्नां प्रक्रिया तथा अभिभावकको चाहनालाई ध्यान दिदै सरल र सहज ढंगको वातावरण सिर्जना गर्न धमलाले अनुरोध गरेका थिए ।

शिक्षक अभिभावक संघको पहिलो बैठक समेत बसेको छ । संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा बसेको बैठक सदस्य सचिव प्रअ देवीप्रसाद बस्ताकोटीले सञ्चालन गरेका थिए । वैठकमा विषयगत सुधार गर्ने, महानगरको निर्देशन अनुरुप कक्षा सुचारु गर्ने, शिक्षक तथा कर्मचारीबाट हुने लापर्वाहीलाई न्यूनीकरण गर्ने, अभिभावकको उपस्थिति तथा हेरचाहलाई कडाइ गर्ने, वडा नं ८ मा रहेका राम आधारभूत, जनप्रिय मावि र जनप्रिय क्याम्पसलाई एक आपसमा समन्वय गरेर शैक्षिक क्षेत्रमा नमुना वडा स्थापित गर्ने अभियानलाई अगाडि बढाउने निर्णय भएको शिक्षक अभिभावक संघका अध्यक्ष धमलाले जानकारी दिए ।

Scroll to Top