पोखराका किरण सुवेदी, जसलाई भन्सारमा १८ ग्राम सुनको ४० हजार कर तिराइयो

दक्षिण कोरियामा श्रमिक जीवन बिताइरहेका पोखराका किरण सुवेदी देशमा टेक्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नमिठो अनुभव संगाल्न पुगेका छन् ।

गत बुधबार राति उनले सामाजिक सञ्जालमा शेयर गरेको जानकारी अनुसार उनले लगाएको १८ ग्रामको औंठी देखेपछि भन्सार अधिकारीले त्यसको ४० हजार रुपैयाँ कर तिर्न लगाए ।

र, अन्ततः उनले उक्त कर तिरेर सुन छुटाउन बाध्य बनाए ।

घटनाको नालीबेली यस्तो छः

१२ घण्टाको लामो र थकित हवाई यात्रापछि सुवेदी रातिको करिब १२ बजे विमानस्थलको भन्सार सेक्सनमा पुगेका थिए । त्यहाँ जाँच गर्ने क्रममा भन्सार कर्मचारीले उनले औँलामा लगाएको करिब १८ ग्रामको औँठी निकाल्न लगाए ।

कर्मचारीहरूले उक्त औँठीलाई ‘काँचो सुन’ भएको दाबी गर्दै त्यसको कूल बजार मूल्यको १० प्रतिशत भन्सार तिरेपछि मात्रै लैजान पाउने अडान लिए ।

त्यतिबेलाको आफ्नो मानसिक अवस्था चित्रण गर्दै सुवेदीले लेखेका छन्, ‘रिसले त रगत भक्लक्क भक्लक्क उम्लिरहेको थियो । त्यहाँ आईफोन ल्याउनेहरूलाई पनि त्यस्तै गरिएको दृश्य मैले देखिरहेको थिएँ ।’

कर्मचारीले एक हप्ताभित्र आएर पैसा बुझाएर सामान लैजान सकिने विकल्प दिए पनि पटक-पटक काठमाडौँ धाउन सम्भव नभएपछि उनले झन्डै ४० हजार नेपाली रुपैयाँ बुझाएर आफ्नो औँठी छुटाए ।

विमानस्थलको यो व्यवहारले सुवेदी यति विचलित भए कि उनलाई रातभर निद्रा लागेन । ‘एक मनले त किन नेपाल आएछु जस्तो पनि लागेको थियो,’ उनले भनेका छन् ।

‘जसले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको छ, तिनै श्रमिकमाथि किन यस्तो अत्याचार गरिन्छ ?’ उनले प्रश्न उठाएका छन् । उनले साना कुरामा गिद्दे नजर लगाएर दुःख गरी खाने वैदेशिक रोजगारका श्रमिकलाई यातना दिने काम तुरुन्तै बन्द गर्न माग गरेका छन् ।

Scroll to Top