मातातीर्थ औँसीमा प्रमको सन्देशः -‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूमा शुभकामना व्यक्त गर्दै आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् रहेको बताएका छन्।

शुक्रबार शुभकामना सन्देश जारी गर्दै भनेका छन् ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’

उनले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्तिलाई उद्धृत गर्दै आमा र मातृभूमिको महत्त्व अतुलनीय रहेको उल्लेख गरेका हुन्। ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु,’ भन्दै उनले मातृभूमिप्रतिको आफ्नो भावनासमेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले आमाको काखलाई न्यानो र आमाको चरणलाई तीर्थजस्तै पवित्र रहेको उल्लेख गर्दै आमाहरू माया, त्याग र सृष्टिको अनुपम स्रोत भएको बताएका छन्।

मातातीर्थ औँसीको पावन अवसरमा उनले सम्पूर्ण आमाहरूप्रति सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दै उनीहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गरेका छन्।

साथै, ‘आमाको मुख हेर्ने दिन’ले सन्तानलाई आमाप्रति कृतज्ञ बन्न प्रेरित गर्ने उल्लेख गर्दै आमालाई सधैं खुशी राख्न र आफ्ना कर्ममार्फत आमालाई गर्व गर्ने वातावरण बनाउन सबैलाई आग्रह गरेका छन्।

Scroll to Top