हेमजाको आलु नै पहिलो रोजाइँ, ४२ सय परिवारले किनेको दाबी

१४ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा पुग्ने अधिकांशले आफ्नो भान्छामा हेमजाको आलु नै पहिलो रोजाइँमा पर्ने बताएका छन् ।

सोही आधारमा महोत्सवमा हालसम्म आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको आयोजकको दाबी छ ।

मंगलबारसम्म करिब ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए ।

जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ ।

हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको मंगलबार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेका पोखरा घारीपाटनका धुर्व विजुक्छेले बताए ।

ग्राहकको अत्याधिक चापका कारण त्यहाँ आलु किन्न लाइन नै लाग्ने गरेको छ ।

आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण, माछापुच्छे«, रुपा एवम् मादी गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही, मकवानपुर लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।

आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ भने मंगलबार साँझसम्म २० लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ ।

महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको पाँचौ दिन मंगलबार नयाँवर्षको सार्वजनिक विदा परेकाले त्यहाँ दर्शकको भीडभाड देख्न सकिन्थ्यो ।

मंगलबार मात्रै १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएका छन् ।

महोत्सवमा बुधबार कलाकारहरु समीक्षा अधिकारी, कुमार पुन, राजन कार्की, तुलसा क्षत्री, नवराज अधिकारी, दुर्गा क्षत्री लगायतका प्रस्तुति दिने तालिका छ ।

महोत्सव यही बैशाख ५ गतेसम्म चल्नेछ ।

Scroll to Top