मानवसेवा आश्रमका लागि १० करोड उठाउने लक्ष्यसहित महायज्ञ हुँदै

पोखरा । मानवसेवा आश्रम कास्की शाखाले सेवा विस्तार र पूर्वाधार निर्माणलाई लक्ष्य बनाउँदै श्रीमद्भागवत् सप्ताह, पितृ–उद्धार ज्ञान–विज्ञान महायज्ञ–२०८३ आयोजना गर्ने भएको छ ।

कार्यक्रम आगामी वैशाख १९ देखि २६ गतेसम्म पोखरामा सञ्चालन हुनेछ ।

आश्रमले जारी गरेको विज्ञप्तिअनुसार महायज्ञको प्रमुख उद्देश्य निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुण्डिनाथ धर्मशाला स्थापना तथा अक्षयकोष वृद्धि रहेको छ ।

महायज्ञबाट संकलित रकममार्फत कास्की शाखाको भवन २०८३ असोज मसान्तभित्र सम्पन्न गरी करिब ३०० जना सहयोगापेक्षी नागरिकलाई सेवा दिने लक्ष्य लिइएको छ ।

दीर्घकालीन सेवा सञ्चालनलाई सुनिश्चित गर्न अक्षयकोष सुदृढ गर्ने, मन्दिरमा नियमित पूजा सञ्चालन गर्ने तथा मुण्डिनाथ जाने तीर्थयात्रीका लागि धर्मशाला निर्माण गर्ने योजना पनि आश्रमले अघि सारेको छ ।

मानवसेवा आश्रमले २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको हो । हाल देशका २२ जिल्लामा २९ सेवा केन्द्रमार्फत सञ्चालन भइरहेको आश्रमले २१०० भन्दा बढी सहयोगापेक्षी व्यक्तिहरूलाई संरक्षण दिइरहेको छ । पोखरा सेवा केन्द्रमा मात्र हाल २७५ जना आश्रित रहेका छन् ।

महायज्ञअन्तर्गत वैशाख १९ गते बिहान ७:३० बजे बाजागाजा तथा सांस्कृतिक झाँकीसहितको कलश यात्रा निकालिनेछ भने १०:३० बजे औपचारिक उद्घाटन गरिने आयोजकले जनाएको छ ।

वैशाख २० देखि २६ गतेसम्म दैनिक योग शिविर, विद्यार्थी लक्षित प्रेरणात्मक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा भागवत कथा वाचन गरिनेछ । कथा वाचन गुरु भागवत भाष्कर कमलनयन गौतम द्वारा गरिने आयोजकले विज्ञप्तिमा जारी गरेको छ ।

महायज्ञ अवधिभर भजन–कीर्तन, सांगीतिक प्रस्तुति, धार्मिक अनुष्ठान तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने कार्यक्रम तय गरिएको छ ।

आश्रमका अनुसार पोखरा–२५ हेम्जास्थित भवन निर्माणमा हालसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने सम्पूर्ण योजना सम्पन्न गर्न थप ९ देखि १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । मासिक करिब ३० लाख रुपैयाँ खर्च हुने सेवा सञ्चालनलाई दिगो बनाउन अक्षयकोष निर्माणलाई प्राथमिकता दिइएको छ ।

आयोजकले महायज्ञ सफल बनाउन देश तथा विदेशमा रहेका दाताहरू, मानवताप्रेमी तथा सर्वसाधारणलाई सहभागी भई सहयोग गर्न अपिल गरेको छ ।

साथै सञ्चारमाध्यममार्फत कार्यक्रमको व्यापक प्रचारप्रसार गरिदिन पत्रकारहरूलाई अनुरोध गरिएको समेत गरेको छ ।

Scroll to Top