स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक नदिए निजी अस्पतालमाथि कारवाहीको चेतावनी

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज, डेन्टल कलेज र अस्पतालहरूलाई नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सम्झौता अनुसारको सेवा सुविधा उपलब्ध नगराए आवश्यक कदम चाल्ने चेतावनी समेत दिएको छ ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले डा सुनीता लम्सालको हस्ताक्षरमा पत्र जारी गर्दै पारिश्रमिक दिने सम्बन्धमा यस्तो ताकेता गरेको हो ।

नर्स तथा स्वास्थ्यकर्मीको निजी मेडिकल र डेन्टल कलेज तथा अस्पतालहरूमा न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधाहरू सम्बन्धी मागका सम्बन्धमा सरोकारवाला पक्षहरूसंग विसं २०८२ कार्तिक १५ गते सम्झौता भएको थियो ।

उक्त सम्झौता भए पनि केही निजी मेडिकल र डेन्टल कलेज तथा अस्पतालहरूले स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध नगराएको भनी गुनासो आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पत्रमा भनेको छ, ‘सो सम्बन्धमा केही निजी मेडिकल र डेन्टल कलेजहरू र अस्पतालहरूले उक्त सम्झौता बमोजिमको स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध नगराएको भनी गुनासो आएको हुनाले यथाशीघ्र सहमति अनुसार उपलब्ध गर्नु गराउनु हुन अनुरोध छ ।’

मन्त्रालयले सम्बन्धित निकायको अनुगमन गर्ने र सो क्रममा सहमति अनुसार कार्यान्वयन नभएको पाइएमा आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

मन्त्रालयले यो पत्र अफिन ललितपुर र नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन काठमाडौंलाई सम्बोधन गर्दै पठाएको हो । पत्रको बोधार्थ निजी तथा सामुदायिक अस्पतालहरू र मेडिकल तथा डेन्टल कलेजहरूलाई समेत दिइएको छ ।

यो पत्र विसं २०८२ चैत २० गते जारी गरिएको हो । पत्रमा मन्त्रालयले नर्स र स्वास्थ्यकर्मीको हकहितका लागि भएको पूर्वसहमति पालना गर्न कडाइका साथ निर्देशन दिएको छ ।


Scroll to Top