पोखरा । नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा ‘पोखरा नाइट स्ट्रिट रन–२०८३’ आयोजना गरिने भएको छ । उक्त कार्यक्रमबारे आज पोखरा महानगरपालिका–१७ सितापाईला स्थित फिस्टेल ड्रीम पार्कमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी गराएको हो ।
पोखरा क्लिक र पोखरा पर्यटन केन्द्रको संयुक्त आयोजनामा चैत २८ गते शनिबार साँझ ७ बजेदेखि ५ किलोमिटरको रात्रिकालीन दौड आयोजना हुने जनाइएको छ ।
दौड सेन्टर प्वाइन्टबाट सुरु भई हल्नचोक, जिरो किलोमिटर,सिर्जनाचोक,सभागृहचोक,न्युरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुल स्थित झन्डापार्क फल्चामा पुगेर समापन हुनेछ ।
‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने उद्घोषका साथ आयोजना गरिएको उक्त कार्यक्रमले खेलकुदमार्फत रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
पोखरामा अङ्ग्रेजी नयाँ वर्ष लक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरू तुलनात्मक रूपमा नेपाली नयाँ वर्षमा कम हुने भएकाले यसलाई थप प्रभावकारी बनाउन यस्तो कार्यक्रम आयोजना गर्न लागिएको पोखरा पर्यटन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।
प्रतियोगितामा खुला, महिला, विदेशी तथा ४५ वर्षमाथिका धावकहरूका लागि छुट्टाछुट्टै विधा समावेश गरिएको छ । खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने अन्य विधाका विजेताहरूलाई पनि नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न सरकारी तथा गैरसरकारी निकाय, पर्यटन व्यवसायी तथा संघसंस्थाहरूको सहकार्य रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्स्यानी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, फिस्टेल ड्रीम पार्कका निर्देशक कमल बस्नेत, पार्कका मार्केटिङ म्यानेजर कृष्णप्रसाद ढकाल, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धावकहरूको सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा, ट्राफिक व्यवस्थापन तथा सुरक्षा प्रबन्ध मिलाइने प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले जानकारी दिए ।
आयोजकका अनुसार यस्तो रात्रिकालीन खेलकुद कार्यक्रमले पोखरामा पर्यटन प्रवर्द्धन, स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि तथा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







