पोखरा । पोखरा महानगरपालिका–१२ को पहलमा पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयमा इमर्जेन्सी रुम स्थापना गरिएको छ । उक्त इमर्जेन्सी रुमको उद्घाटन वडाध्यक्ष सन्तोष बास्तोलाले गरेका हुन् ।
शुक्रबार सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष बास्तोलाले विद्यालयको भौतिक पूर्वाधारसँगै विद्यार्थीको स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिइएको बताए । “विद्यालयको समग्र विकाससँगसँगै विद्यार्थीको स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेका छौँ । आकस्मिक अवस्थामा तुरुन्त उपचार उपलब्ध गराउने यस रुमले जीवन रक्षा तथा स्वास्थ्य व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउनेछ,” उनले भने ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.भरत खत्रीले आवश्यक परे संस्थागत सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालय तहबाटै स्वास्थ्य सेवा विस्तार हुनु सकारात्मक र सराहनीय कदम भएको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले विद्यालयमा पहिलोपटक यस्तो सुविधा थपिँदा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा उत्साह थपिएको बताए । उनले इमर्जेन्सी रुमले विद्यालयमा सुरक्षित र स्वास्थ्य अनुकूल वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
वडा कार्यालयका अनुसार चालु आर्थिक वर्षमै इमर्जेन्सी रुम स्थापना गर्न बजेट विनियोजन गरिएको हो । हाल उक्त रुममा सृजना आचार्य नर्स तथा दीपा लमिछाने फिजियोथेरापिस्टका रूपमा कार्यरत छन् ।
देशकै नमुना सामुदायिक विद्यालयका रूपमा चिनिने अमरसिंह माध्यमिक विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् ।
इमर्जेन्सी रुम स्थापना भएसँगै आकस्मिक अवस्थामा विद्यार्थी तथा शिक्षकले तत्काल प्राथमिक उपचार पाउने अपेक्षा गरिएको छ ।







