नेपाल मेडिकल कलेजले कलेजको ‘ब्वाइज रेड होस्टल’मा भएको घटनामा संलग्न विद्यार्थीहरुलाई विभिन्न तहको अनुशासनको कारबाही गरेको छ।
कलेजको अनुशासन समितिले बुझाएको प्रतिवेदनका आधारमा मार्च १८, २०२६ मा एमबीबीएस तहका जुनियर विद्यार्थीमाथि सिनियरद्वारा हिंसा भएको घटनालाई लिएर कलेजले यस्तो कदम चालेको हो।
कलेजले ५ जना विद्यार्थीलाई होस्टलबाट स्थायी रुपमा निष्कासन गर्दै ३ महिनाका लागि सबै एकेडेमिक गतिविधिबाट निलम्बन गरेको छ। यसरी कारबाहीमा पर्नेहरुमा एमबिबिएस २५ का ४ जना र एमबिबिएस २४ का १ जना विद्यार्थी छन्।
त्यस्तै, कलेजले अन्य ७ जना विद्यार्थीलाई २ महिनाका लागि होस्टलबाट निष्कासन र १ महिनाका लागि एकेडेमिक गतिविधिबाट निलम्बन गरेको छ।
यस समूहमा एमबिबिएस २५ का ५ जना र एमबिबिएस २४ का २ जना विद्यार्थी परेका छन्। कलेजले ५ जना विद्यार्थीलाई भने १ महिनाका लागि होस्टलबाट मात्र निष्कासन गरेको छ। जसमा एमबिबिएस २५ का २ जना, एमबिबिएस २४ का २ जना र एमबिबिएस २६ का १ जना विद्यार्थी छन्।
कलेजले एमबिबिएस २७ का ३ जना विद्यार्थीलाई भने कडा चेतावनी दिएको छ। उनीहरु भविष्यमा यस्ता गतिविधिमा संलग्न भए ६ महिनासम्म निलम्बन र होस्टलबाट स्थायी निष्कासन गरिने विज्ञप्तिमा उल्लेख छ।
शैक्षिक निलम्बन मार्च २४ देखि लागू हुने र कारबाहीमा परेका विद्यार्थीले मार्च २५ भित्र होस्टल खाली गर्नुपर्ने प्रिन्सिपलको कार्यालयले बताएको छ। परिस्थिति अनुसार थप कारबाही समेत हुनसक्ने कलेजले जनाएको छ।







