रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा जाहेरी दिने मुख्य जाहेरीकर्ता कृष्ण जैसी आफैं सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।
जैसीले आफू पोखराको सूर्यदर्शन सहकारी पीडित भएको भन्दै जाहेरी हालेका थिए । अहिले उनै जैसी पोखराकै धनुष सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् ।
उनले ८२ लाख रकम अपचलन गरेको आरोप छ । कास्की प्रहरी स्रोतका अनुसार जैसी प्रहरीको नियन्त्रणमा छन् भने अन्यको पनि खोजी कार्य भैरहेको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले गरेको वित्तीय विश्लेषण प्रतिवेदनका अनुसार धनुष सहकारीको १२ करोड ५६ लाख अपचलन भएको थियो । जसमा जैसी सहित १३ जनालाई प्रतिवादी देखाइएको छ ।
छानबिन समितिले तयार पारेको प्रतिवेदनमा जैशी सहित पूर्वव्यवस्थापक विराज सुवेदी र जगत पौडेलले पनि करोडौं रुपैयाँ दुरुपयोग गरेको उल्लेख छ ।
यी तीन जनासँगै इन्जिनियर असिम बराल र अमेरिकामा रहेकी सिर्जना गुरुङ (परिवारसहित)ले गरी कुल झन्डै ३ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदनले औंल्याएको छ ।
सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशका अनुसार पोखरा महानगरपालिका वडा नं. ९, नयाँबजारमा कार्यालय रहेको यस संस्थाको कुल हिनामिना रकम १९ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।
प्रतिवेदनले जैशीले ऋण समिति सदस्यको हैसियतमा पदको दुरुपयोग गरी सहकारीको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको, चर्को मिटरब्याजमा लगानी गरी ब्याज असुल्ने धन्दा चलाइएको तथा फर्जी ब्याज प्रविष्टि गरी रकम दाखिला नगरेको स्पष्ट पारेको छ ।
यसैगरी, व्यवस्थापकहरूसँग मिलेमतो गरी फर्जी ब्याज राखेर करिब ४३ लाख ब्याज र अन्य गरी कुल ७२ लाख रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ ।







