lagu aausad

“नागार्जुनमा गोप्य सूचनाको आधारमा छापाः ठूलो परिमाणमा लागुऔषध बरामद”

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६, शरणपुर चोक नजिकबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चैत ५ गते बिहान करिब ९ः३० बजे एक होटलमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । चेकजाँचका क्रममा होटलभित्र प्लास्टिकले बेरि लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको हो ।

प्रहरीले करिब ७३ केजी पोलेन जस्तो देखिने पदार्थ र २.५ केजी गाँजा जस्तो देखिने लागुऔषध फेला पारेको जनाएको छ ।

यस घटनामा संलग्न रहेको आरोपमा मकवानपुर जिल्ला, कैलाश गाउँपालिका–२ का २७ वर्षीय देवराज घिसिङ र सोही स्थानका ४३ वर्षीय अष्तमराज घिसिङलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई अझ कडाइका साथ अघि बढाइने पनि जनाएको छ ।

Scroll to Top