“गण्डकीमा आँधी–वर्षाको चेतावनी: बाहिर निस्कँदा सावधानी अपनाउन आग्रह”

पोखरा । गण्डकी प्रदेशमा आज र भोलि हावाहुरीसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण प्रदेशभर मौसम बदली भई अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

विशेषगरी गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको संभावना रहेको छ । मौसम बदलीसँगै हावाहुरीको जोखिम पनि बढेकाले जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले हावाहुरी र वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुने सम्भावना रहेको छ ।

प्राधिकरणले हावाहुरी चलेका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, अग्ला रुख तथा बिजुलीका खम्बा नजिक नबस्न र लत्रिएका तार नछुन पनि सुझाव दिएको छ । साथै सवारीसाधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन र भीडभाडमा नआत्तिन पनि अनुरोध गरिएको छ ।

मौसम प्रतिकूल रहने भएकाले गण्डकी प्रदेशका बासिन्दालाई विशेष सतर्कता अपनाउन र सुरक्षित रहन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

Scroll to Top