हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ ।
पोखरामा बिहानैको मौसम सफा भएपनि केही अघिदेखि निरन्तर वर्षा भइरहेको छ ।
वर्षाका कारण पोखरामा आन्तरीक उडानमा समस्या नभए पनि प्रत्येक उडान १ घण्टा ‘डिले’ भएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्यस्तै कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको बताइएको छ ।
आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षा हुने छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि छ ।
त्यसैगरी, आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्नाका साथै मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । केही स्थानमा भारी वर्षा तथा हिमपात हुने महाशाखाको अनुमान छ ।
महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने जनाएको छ ।




