पोखरा । लेकसाइड–६ बैदामस्थित टेम्पल ट्री रिसोर्ट प्रा.लि.ले स्थापना भएको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विविध सामाजिक कार्यक्रम तथा उत्कृष्ट कर्मचारी सम्मान गर्दै वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आइतबार बिहान लेकसाइडको स्ट्रिट नम्बर ६ आसपास सरसफाइ अभियान सञ्चालन गर्नुका साथै डस्टबिन वितरण गरिएको थियो । त्यसैगरी हेम्जास्थित मानव सेवा आश्रममा खाद्य सामग्री वितरण गरी सामाजिक उत्तरदायित्व पनि निर्वाह गरिएको रिसोर्टले जनाएको छ ।
सोही अवसरमा आइतबार टेम्पल ट्री रिसोर्ट परिसरमै आयोजित समारोहमा उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै आपसमा शुभकामना आदान–प्रदान गरिएको थियो । रिसोर्टमा लगातार १५ वर्षदेखि कार्यरत ऋषिराज गिरीलाई दीर्घसेवा कर्मचारीको रूपमा सम्मान गरिएको छ । त्यस्तै १० वर्षदेखि निरन्तर सेवा गर्दै आएका रमेश गुरुङलाई पनि सम्मान गरिएको छ भने यस वर्षको सर्वोत्कृष्ट कर्मचारीको रूपमा युरोज श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा रिसोर्टका निर्देशक बिमल नहर्की र निर्देशक रन्जन कृष्ण कायस्थको पनि उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै रिसोर्टका अध्यक्ष बसन्त गौतमले स्थापना कालदेखि हालसम्मका संघर्ष र सफलताका महत्वपूर्ण क्षणहरू स्मरण गरे । उनले कर्मचारी, ग्राहक तथा सरोकारवालाको साथ–सहयोगकै कारण रिसोर्ट आजको अवस्थासम्म आइपुगेको उल्लेख गरे ।
त्यसैगरी रिसोर्टका निर्देशक प्रेमकृष्ण श्रेष्ठले दक्ष, इमान्दार र लगनशील कर्मचारीहरूको योगदानकै कारण टेम्पल ट्री आज पोखराको प्रतिष्ठित रिसोर्टका रूपमा स्थापित हुन सफल भएको बताए ।
कार्यक्रममा अपरेसन म्यानेजर सुमित भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने एचआर म्यानेजर रामकृष्ण कडेलले कार्यक्रम सञ्चालन गरेका थिए । समारोहमा रिसोर्टमा कार्यरत कर्मचारीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि दिएका थिए ।







