पोखरा । पोखरामा खेलकुद पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
पोखरामा कार्यरत पत्रकारहरूलाई लक्षित गर्दै आयोजना गरिएको तालिममा विभिन्न खेलका नियम, रिपोर्टिङ गर्ने तरिका तथा खेलकुद पत्रकारिताका व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको थियो ।
खेलकुद क्षेत्रमा पत्रकारहरूको लेखन क्षमता अभिवृद्धि गर्दै खेलसम्बन्धी समाचारलाई थप प्रभावकारी बनाउन तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।
तालिममा राष्ट्रिय खेल भलिबलका प्रशिक्षक राजन पौडेल, क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी, गल्फ प्रशिक्षक जिवाराम गुरुङ, मार्शलआर्ट प्रशिक्षक सुवास खड्का र फुटबल प्रशिक्षक हिमेश रत्न बज्राचार्यले प्रशिक्षण दिएका थिए ।
समापन समारोहमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले यस्तो तालिमले पत्रकारहरूको क्षमता वृद्धि गर्नुका साथै लेखन शैलीमा निखार ल्याउने विश्वास व्यक्त गरे । तालिममा ६५ जना पत्रकारको सहभागिता रहेको थियो ।
तालिमका प्रमुख प्रशिक्षक दुर्गानाथ सुवेदीले खेलाडीहरूको उत्साह, लगनशीलता र मेहनतलाई दर्शकसम्म पुर्याउने महत्त्वपूर्ण माध्यम खेल पत्रकारिता भएको बताए । उनले खेलका नियम र प्रणालीलाई सही ढंगले बुझेर समाचार प्रसारण गर्न यस्तो तालिमले ठूलो भूमिका खेल्ने उल्लेख गरे ।
उनले गण्डकी प्रदेशका खेलाडी, प्रशिक्षक, खेलकुद संघ–संस्था तथा सरोकारवालाहरूका लागि यस्ता तालिमले खेलकुद विकाससँगै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने बताए ।
पत्रकार कमल पौडेल (अथक) ले प्रत्यक्ष खेल मैदानमै पुगेर तालिम लिने अवसर पाएकोमा खुसी व्यक्त गर्दै यसले लेखन शैली सुधार्न र खेल समाचार तयार गर्दा आउने समस्यामा कमी ल्याउने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्तिमगर (एमबी आस्था) ले दुईदिने तालिमबाट सहभागीहरूले नयाँ ज्ञान हासिल गरेको विश्वास व्यक्त गरे । उनले आगामी दिनमा खेलकुद सम्बन्धी समाचार उत्पादन तथा प्रसारणमा थप सहजता आउने बताए ।
तालिमको समापन कार्यक्रम मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेका थिए ।







