खामेनी मारिएपछि इरान शोकमा: सातदिने बिदा र ४० दिने राष्ट्रिय शोक

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ ।

इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूका अनुसार खामेनीको इजरायली र अमेरिकी आक्रमणमा परी मृत्यु भएको हो।

खामेनीको मृत्युको आधिकारिक पुष्टि भएसँगै इरान सरकारले देशभर सात दिन सार्वजनिक बिदा र ४० दिन शोकको घोषणा गरेको छ ।

सञ्चार माध्यमहरूका अनुसार यो आक्रमण इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य कारबाहीको परिणाम हो ।

पछिल्लो समय यस क्षेत्रमा बढ्दै गएको सैन्य तनाव र द्वन्द्वका बीच यो घटना सार्वजनिक भएको हो ।

इरानका सरकारी निकायहरूले आफ्ना शीर्ष नेताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आगामी ४० दिनसम्म देशभर शोक मनाइने र राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिएका छन् ।

यस घटनापछि इरानको आन्तरिक सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने अन्तर्राष्ट्रिय समुदायले यसलाई निकै चासोका साथ हेरिरहेका छन् ।

इरानी सत्ताको सर्वोच्च पदमा रहेका खामेनीको निधनले इरानको भावी राजनीतिक दिशा र क्षेत्रीय सुरक्षामा कस्तो असर पार्नेछ भन्नेबारे अहिले विश्वभर विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको मृत्युको घोषणा गरेका थिए ।

Scroll to Top