
पोखरा । पोखरा महानगरपालिका–१३ को आयोजनामा शनिबार वडा कार्यालय परिसरमा ३ सय जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ।
शहिद गंगालाल हृदय रोग केन्द्र, काठमाडौंमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डिएम डा.दीपक बरालको नेतृत्वमा आएको चिकित्सक टोलीले स्थानीयवासीको स्वास्थ्य परीक्षण गरेको हो। टोलीमा मुटुरोग विशेषज्ञ डा.निसान राना मगर, डा.मिलन कुमार न्यौपाने, डा.प्रकृति रेग्मी लगायत सहभागी थिए।
स्व.बोधराज बराल स्मृति प्रतिष्ठानको विशेष सहयोगमा सम्पन्न उक्त वृहत् स्वास्थ्य शिविरमा ईसीजी, ईको, मधुमेह परीक्षण तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको थियो। शिविरमार्फत करिब १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा प्रदान गरिएको डा.बरालले जानकारी दिए।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सुचित तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। नर्सिङ तथा फार्मेसी सेवामा सृष्टि सुवाल, अञ्जली कँवा, सञ्जु ज्वारचन, नवीन पोख्रेल, तीर्थराज अधिकारी, सुदीप श्रेष्ठ लगायतले सहयोग गरेका थिए।
कार्यक्रममा जनकल्याण समितिका शिव केसी, शकुन्तला गुरुङ, वडा सदस्य बलबहादुर बराल, स्थानीय पत्रकार शोभाकान्त बराल लगायतले सहजीकरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डा.बरालले धुम्रपान तथा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको बताए। उनले जाँड–रक्सीको तुलनामा धुम्रपानले सय गुणा बढी असर गर्ने उल्लेख गर्दै वर्षमा कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गरे।
हृदयघात हुनुअघि छाती दुख्ने, पसिना आउने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्ने जस्ता लक्षण देखिन सक्ने भएकाले यस्ता संकेत देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जानुपर्ने डा.बरालले बताए ।







