
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा शनिबार आयोजित एक बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय लाभान्वित भएका छन्।
खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो।
अर्जुनचौपारी-१ स्थित गाउँकार्यपालिकाको कार्यालयमा सञ्चालित शिविरमा हाडजोर्नी, मुटु, स्त्रीरोग, बालरोग, दन्तरोग, आँखा, नाक, कान तथा घाँटी र छालारोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो।
शिविरमा चेकजाँच गरिएकामध्ये १२० जना बिरामीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा रिफर गरिएको छ। रिफर भएका बिरामीहरूले उक्त अस्पतालमा औषधिमा ५ प्रतिशत र उपचारमा २० प्रतिशत छुट पाउने जनाइएको छ।
कार्यक्रममा बोल्दै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले दुरदराजको पालिका अर्जुनचौपारीमा आएर यो किसिमको सेवा उपलब्ध गराएकोमा खुमा अर्याल फाउन्डेसनलाई धन्यवाद दिए ।
उनले निकट भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताउदै खेलकुदमा पनि फाउन्डेसनसंग सहकार्य गरेर अघि बढ्ने इच्छा रहेको आशय व्यक्त गरे ।
सो अवसरमा उपाध्यक्ष सपना गुरुङ, वरिष्ठ उद्यमी तथा समाजसेवी खुमा प्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले कार्यक्रमको समापन गर्दै सबैको साथ र सहयोगले गर्दा नै शिविर गुणस्तरीय सेवा सहित सम्पन्न भएको बताए ।
उनले सबैको सद्भावले गर्दा नै छोटो समयावधिको तयारीमा समेत महत्वपुर्ण उपलब्धी हासिल गर्न सफल भएको बताए । यस्तै, संस्थापक परिवार सदस्य डा लुना अर्यालले शिविरमा उपलब्ध सेवाहरुको बारेमा जानकारी गराएकी थिइन ।
सो क्रममा फाउन्डेसन र गाउँपालिकाको तर्फबाट गण्डकी मेडिकल कलेजलाई सम्मानित गरिएको थियो । यस्तै, फाउन्डेसनद्वारा गाउँपालिका र गाउँपालिकाद्वारा फाउन्डेसनलाई सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।
फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका १ का वडा अध्यक्ष रणबहादुर थापाले स्वागत एवम् सचिव ध्रुव शर्माले संचालन गरेका थिए ।







