
मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) ले पोखरा महानगरपालिकाभित्र निर्माणाधीन सडकका संरचना स्थानीयले बिगारेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
घरको फोहोर पानी नालीमा मिसाउनका लागि स्थानीयले जथाभावी नाली फुटाउने र सडक खन्ने गरेपछि आयोजनाले यसलाई रोक्न सम्बन्धित वडाहरूलाई पत्राचार गरेको हो।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माणाधीन जामुने–पोखरा खण्डअन्तर्गत सेती–कोत्रे क्षेत्रमा स्थानीयले नवनिर्मित संरचनामा क्षति पुर्याएका छन्।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरले सार्वजनिक सम्पत्तिको नोक्सानी रोक्न पहल गरिदिन भन्दै आइतबार पोखरा महानगरका वडा नम्बर १०, १४, २६, २७, २९, ३० र ३२ का वडा कार्यालयलाई पत्र पठाएका हुन्।
निर्माण व्यवसायीले बजार क्षेत्रमा ‘सर्भिस लेन’ बनाउने क्रममा स्थानीय बासिन्दाले घरको ‘वेस्ट वाटर’ (फोहोर पानी) व्यवस्थापनका लागि भन्दै एचडिपिइ पाइप गाड्न तयार भइसकेको ‘सब–बेस’ खन्ने र नाली फुटाउने गरेको पाइएको छ।
आयोजनाका अनुसार यस्ता गतिविधिले एकातिर ‘सर्भिस लेन’ को दिगोपनामा असर पुर्याएको छ भने अर्कोतिर सार्वजनिक सम्पत्तिको क्षति भइरहेको छ।
सडक छेउमा बनाइएका नालीहरू वर्षायामको पानी (Rainwater) बग्नका लागि मात्र डिजाइन गरिएको आयोजनाले स्पष्ट पारेको छ।
हाल निर्माण गरिएका नालीमा ‘कभर’ को साटो सुरक्षाका लागि ‘डब्लु–बिम क्र्यास ब्यारियर’ मात्र राखिएको छ। यस्तो अवस्थामा घरको फोहोर पानी नालीमा मिसाउँदा पानी जम्ने, दुर्गन्ध फैलिने र रोगब्याधीको जोखिम बढ्ने आयोजना प्रमुख कुँवरले बताएका छन्।







