अमेरिकी सहयोगमा ऐतिहासिक ‘येँगा हिटी’ को जीर्णोद्धार सम्पन्न

santan ads

अमेरिकी दूतावासले नेपाल सरकार तथा विभिन्न साझेदार संस्थाहरुसँगको सहकार्यमा काठमाडौंको लगनस्थित ऐतिहासिक ‘येँगा हिटी’ को जीर्णोद्धार सम्पन्न गरेको छ।

‘काठमाडौं उपत्यकाका हिटी : जलसम्पदा पुनर्स्थापना परियोजना’ अन्तर्गत यो ऐतिहासिक सम्पदाको संरक्षण गरिएको हो। यस कार्यमा अमेरिकी दूतावाससँगै नेपाल सरकार, चिभा चैत्य अर्गनाइजेसन र वर्ल्ड मोन्यूमेन्ट्स फन्डले साझेदारी गरेका छन्।

अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोष (AFCP) को २ लाख ७५ हजार अमेरिकी डलर आर्थिक सहयोगमा यो परियोजना सञ्चालन भइरहेको छ। यस परियोजनाले काठमाडौं उपत्यकाका कम्तीमा तीनवटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्ने लक्ष्य राखेको छ।

साथै, यसले विद्यार्थी तथा सम्पदाकर्मीहरूलाई व्यावहारिक तालिम प्रदान गर्नुका साथै दीर्घकालीन संरक्षण योजना निर्माणमा समेत सहयोग पुर्‍याउने बताइएको छ।

परम्परागत जलस्रोत प्रणालीको जीर्णोद्धारले नेपालको सांस्कृतिक सम्पदा भावी पुस्ताका लागि जोगाउन मद्दत पुग्ने दूतावासले जनाएको छ।

यस्ता परियोजनाले अमेरिका र नेपालबीचको सम्बन्ध सुदृढ गर्नुका साथै दिगो पर्यटन, सांस्कृतिक संरक्षण र आर्थिक वृद्धिमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ।

Scroll to Top