
पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना अन्तर्गत पोखरा २६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
उक्त सडक योजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी २ महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको छ ।
शनिबारदेखि पुलमा ‘गिर्डर लन्चिङ’ को काम भइरहेको छ । ‘अहिलेसम्म ४ वटा गिर्डर लन्चिङ भइसकेको छ, अझै ११ वटा गिर्डर लञ्चिङ गर्न बाँकी छ’, प्रमुख कुँवरले भने, ‘गिर्डर लन्चिङपछि पुलको स्लाब र दुवैतर्फको सडक ढलान हुन्छ ।’
आउँदो बिहीबारसम्मलाई बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द गरेर ‘गिर्डर लन्चिङ’ को काम गरिएको हो ।
सडक ठेक्का अन्तर्गत उक्त पुल निर्माण भइरहेको हो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नति गरिरहेको छ ।
रासस







