
मोफसलमा खेलिने मुलुककै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप यस वर्ष माघको २७ गतेदेखि पोखरा रंगशालामा सुरु हुने भएको छ ।
आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको फाइनल फागुन ९ गते हुनेछ ।
हिम श्री फुड्सको मुख्य प्रायोजनामा सञ्चालन हुने प्रतियोगिताको संरक्षकमा पोखरा महानगर पालिका तथा सहयोगी संस्थाको रुपमा प्रदेश खेलकुद परिषद गण्डकीलगायत रहेका छन् ।
यसै बीच सहारा क्लबल पोखराले गत २०८२ कार्तिक १४ गते आयोजित च्यारिटी डिनरमा १७ लाख ४१ हजार ६२६ रुपैयाँ बचत गर्न सफल रहेको जानकारी दिएको छ ।
सो रकम सहारा क्लबले एकेडेमीमा आश्रित बालकहरुको लागि खर्च गर्ने अध्यक्ष थापाले बताए । एकेडेमीका लागि वार्षिक ४७ लाख खर्च हुदै आएको बताउँदै क्लबद्वारा सञ्चालित अक्षयकोषमा ३ करोड ४७ लाख रहेको जानकारी समेत दिए ।
प्रतियोगितामा ‘ए’ डिभिजन, विभागिय क्लबहरु, आयोजक र अन्तर्राष्ट्रिय क्लब गरी १० टिमको सहभागिता हुँदै आएको छ ।
सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले प्रतियोगिताको तयारी सुरू भएको जानकारी दिंदै सहयोगका लागि आग्रह गरेका छन् । यो वर्ष पोखराका भगिनी शहरहरुलाई समेत सहभागिताका लागि महानगरसँग छलफल अघि बढाएको बताए।”
मुख्य प्रायोजक संस्था हिम श्री फुड्सका निर्देशक प्रकाश केसीले प्रतियोगिता सफल बनाउन सहयोगको निरन्तरता रहने प्रतिवद्धता जनाए ।
यसै गरी पोखरा महानगर पालिका वडा नं ९का अध्यक्ष दिपेन्द्र मर्सानी सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ, महासचिब गंगाराज पौडेललगायतले आफ्ना भनाई राख्दै रजत वर्षमा टेकेको आहा रारा पोखरा गोल्डकप सफल बनाउन आग्रह गरेका थिए ।







