
हामी नेपालका संयोजक सुदन गुरुङले आज बिहान सञ्चारकर्मीसँग ओमप्रकाश अर्याल एमालेकै गृहमन्त्री जस्तो लाग्न थालेको टिप्पणी गरेका छन् ।
नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा लैनचौर पुगेका गुरुङले पत्रकारलाई प्रतिक्रिया दिने क्रममा भने, ‘उहाँ जेनजी आन्दोलनको बलमा गृहमन्त्री बन्नुभएको हो । अहिले आन्दोलनकारीलाई पक्राउ गरिरहनुभएको छ । जेनजीका माग सम्बोधन नगरेको देख्दा उहाँ एमालेको गृहमन्त्री हो कि जस्तो लाग्न थालेको छ ।’
गृहमन्त्रीले चुनाव-चुनाव मात्र भनिरहेकोले उहाँप्रति शंका उत्पन्न भएको गुरुङको भनाइ छ । उनले भने, ‘गृहमन्त्री अर्याल खाली चुनाव-चुनाव मात्र भनिरहनुभएको छ । जेनजीका माग पूरा नभई कसरी चुनावमा जान सकिन्छ ?’
जेनजीका माग चुनाव मात्र नभएको उनले बताए । ‘गृहमन्त्रीको एजेन्डा चुनावमात्र होला । तर हाम्रो एजेन्डा देशले न्याय पाउनुपर्छ भन्ने हो ।’







