
पोखरामा आयोजित द्रुत डाँक सेवासम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा हुलाक सेवालाई आधुनिक र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ।
हुलाक सेवा विभागको आयोजना तथा हुलाक निर्देशनालय, पोखराको समन्वयमा भएको यस कार्यक्रममा वक्ताहरूले हुलाक सेवाको विशिष्ट महत्वमाथि प्रकाश पार्दै यसलाई जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने गरी प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले हुलाक सेवाको लामो इतिहास भए पनि प्रविधिको विकाससँगै यसलाई युगअनुसारको वैज्ञानिक बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले निजी कुरियर सेवाको शुल्क नियमन गर्नुपर्नेमा पनि जोड दिए।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले विभाग हुलाक सेवालाई प्रभावकारी बनाउँदै आमनागरिकसँग जोड्न सक्रिय रहेको बताइन्।
द्रुत डाँक सेवालाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिँदै उनले सेवा प्रवाहमा नागरिकको दृष्टिकोणबाट सोच्नुपर्नेमा जोड दिइन्।
विभागका निर्देशक लिलाराज पौडेलले नेपालमा १४७ वर्ष पहिलेदेखि हुलाक सेवा सुरु भए पनि यसलाई अपेक्षित रूपमा आधुनिकीकरण र व्यावसायिक बनाउन नसकिएको स्वीकार गरे।
हुलाक सेवा विभागका अधिकृत शालिकराम बस्यालले द्रुत डाँक सेवा समयको माग र ग्राहकको चाहनाअनुसार चाँडो, छरितो, भरपर्दो र अत्याधुनिक रूपमा कागजात एवं मालसामान आदानप्रदान गर्न नेपाल सरकारको हुलाक सेवा विभागअन्तर्गत सञ्चालित एक व्यावसायिक सार्वजनिक सेवा भएको बताए। उ
नले यस सेवामार्फत हुलाकलाई विश्वसनीय र भरपर्दो बनाउने लक्ष्य रहेको र यो निजी सेवा प्रदायकको भन्दा सस्तो र समयसीमाबद्ध रहेको जानकारी दिए।







