मासुमा रहेका छाला,रातो एवं बोसे मासुलाई भान्छामा नभित्र्याउनु: डा.थापा

santan ads

गण्डकी मेडिकल कलेज एवं शिक्षण अस्पतालका फिजिसियन सरोज थापाले नयाँलिपिसँग गरेको स्वास्थ्य–संवादमा दशैं तिहारजस्ता महान पर्व राम्रो लगाउने र मिठो खाने संस्कृतिकारुपमा विकास हुँदै गएको बताएका छन् । लगाउन नजान्दा गल्ती नहनु पनि सक्छ भन्दै डा. थापाले खान नजान्दा भने स्वास्थमा गम्भीर संकट निम्तने सुझाएका छन् । अझ दशैंमा ‘मासु’ प्रमुख भोजन हुने गरेको यथार्थबीच उनले महत्वपूर्ण सुझाव दिएका छन् ।

मासुको छनोटः

दशैंमा आम नेपालीहरुको विशेष परिकार मासु नै भएकाले सर्वप्रथम त्यसको छनौटमा ध्यान दिनुपर्ने उनको भनाई छ । खसी बोकाको मासु भए सकेसम्म बोसो नभएको मासु छनौट गर्नुपर्ने भन्दै उनले अन्यथा, कुखुरा र माछा सर्वाेत्तम हुने जनाए । 

कुखुरा सेतो वर्गको मासू भएकाले चिल्लो पदार्थ कम हुने र पचाउनसमेत सहज हुने बताउँदै माछामा पाइने ओमेगाजस्ता तत्वले मुटुलाई स्वस्थ बनाउने उनको भनाई छ । 

मासुको छनौटपछि त्यसलाई पकाउने शैली सादा, चिल्लो रहित र झोलिलो हुनुपर्ने बताउँदै उनले ‘डीप फ्राइ’ शैलीमा पकाएका मासुले स्वास्थ्यमा संकट ल्याउने बताएका छन् । मासुमा रहेका छाला फाल्ने र रातो एवं बोसे मासुलाई भान्छामा नभित्र्याउन डा. थापाले सुझाव दिएका छन् । 

खाने तरिकाः

आम नेपालीहरुको खाने तरिका अनौठो छ । बिहान एकपटक पेटमा अटुन्जेल खाने, त्यसपछि बेलुका सोही शैलीमा खानाले मानव शरिर झनै कमजोर हुने उनी बताउँछन् । 

थोरै–थोरै धेरैपटक खाँदा खाद्य पदार्थबाट शरिरले भरपुर उर्जा पाउने र शरिरको पाचन प्रणालीले पनि सोही रफ्तारमा काम गर्ने उनले बताए । ‘मुख्यतः बेलुकी ९–१० बजे खाना खाएलगत्तै सुतिहाल्ने बानीले स्वास्थ्यमा प्रतिकूल असर पार्छ’ डा थापा भन्छन् ‘बेलुकीको खानापछि करिब ३ घण्टापछि मात्र सुत्नुपर्छ, त्यसकारण ७–८ बजेको समय खाना खानु उत्तम हुन्छ ।’

खानालगत्तै सुत्दा अपच हुने, ग्याष्ट्रिक, अल्सरजस्ता रोग जन्मन सक्ने डा. थापाको चेतावनी छ । 

नेपालीहरुको २ छाक खाने बानीको सट्टा बिहान थोरै भएपनि ब्रेकफास्ट लिएर बाँकी खानालाई ४ घण्टाको अन्तरालमा खाने गरे भोजनबाट पर्याप्त शक्ति मिल्ने उनले बताए । 

सामान्यतयः मासुको अधिक सेवन गर्ने समय भएकाले मासुकै अनुपातमा सागसब्जी र सलादसमेत भोजन गर्नुपर्ने र पानी प्रशस्त पिउनु पर्ने उनको सुझाव छ । खानामा भात र मासु बढी तर सागसब्जीको मात्रा छैन भने त्यो भोजन ‘विष’ बन्न सक्नेतर्फ ध्यान दिन जरुरी भएको उनले सुनाए ।

सुगरका बिरामीलाई टिप्सः

सुगरका बिरामीले कार्बाेहाइड्रेटमूलक भोजन कम गर्नुपर्छ । विशेषतः अन्न अर्थात् ग्लुकोज कम हुने कुरा खानुपर्छ । भात, रोटी, सिरियल आइटम सकेसम्म कम लिन उनले सुझाएका छन् । 

एक कचौरा भात लिए २ कचौरा सागसब्जीका तरकारी लिनुपर्ने भन्दै उनले अघाउनकालागि भातै थप्ने बानी चटक्कै त्याग्नुपर्ने सुझाउँछन् । ‘चिनीजन्य अर्थात् गुलियो पदार्थ भएका खानासमेत बार्नुपर्छ’ डा. थापाले भने ‘फलफुल भने मजाले खान मिल्छ ।’

यद्यपि, आँप, लिचीजस्ता अधिक गुलियो फलफुल नखान र बजारमा पाइने प्याकिङ् जुससमेत हानिकारक हुने उनको भनाई छ । ‘यसले शरिरमा ग्लुकोजको मात्रा बढाउँदा थप समस्या निम्त्याउँछ’ उनले बताए ।

मासुकोहकमा भने माथि भनिए झैं बोसोरहित मासुलाई राम्रोसँग पकाएर कम मसाला प्रयोग गरी झोलिलो पकाई खाने सकिने थापा बताउँछन् । 

प्रेसर (रक्तचाप)का बिरामीलाई टिप्सः

प्रेसरका बिरामीले नुनको मात्रामा निकै ध्यान दिनुपर्छ भन्दै खानामा स्वाद भर्न नुनकै अधिक प्रयोग गर्नु घातक हुनसक्ने उनको टिप्पणी छ । नुनको मात्राबारे जानकारी दिँदै उनले भने ‘२४ घण्टामा ५ ग्रामभन्दा कम खानुपर्छ ।’

भान्छामा खानाका प्रकार धेरै हुने र विलिनो स्वादमा खाँदा नुन कम खाएको भ्रम त्याग्न उनको सुझाव छ । नुन थोरै हालेपनि आइटम धेरै हुँदा नुनको मात्रामा स्वभाविक वृद्धि हुने उनले जानकारी दिए । 

खानामा नुनको मात्रा मिलाउन सके पनि प्रेसर बिस्तारै सामान्य तहमा झर्ने डा. थापा बताउँछन् ।

मृगौलाका बिरामीलाई टिप्सः

जसको मृगौलामा समस्या देखिन थालेको छ उसले मासु खाँदा ध्यान दिनुपर्छ । जसले खानामा प्रोटिनको मात्रा कम गर्नुपर्ने उनको सुझाव छ । मासु खानै नमिल्ने त होइन भन्दै डा. थापाले शरिरको तौलको अनुपातमा कम प्रोटिन आवश्यक हुने सुझाए ।

६० किलोको मानिसलाई दैनिक ४० ग्राम हाराहारी प्रोटिन आवश्यक हुने उदाहरण दिँदै मृगौलाका बिरामीले भने झण्डै ८० प्रतिशत कम प्रोटिन लिनुपर्ने बताउँछन् । शरिरमा प्रोटिनका मात्रा बढी भए बिरामीलाई डायलाइसिन गर्नुपर्ने अवस्था आउन सक्ने उनले सुझाव दिएका छन् ।

अनि, पानी र कसरतः

खानाको प्रकार र मात्रा मिलाएर मात्र नहुने जनाउँदै डा. थापाले स्वस्थ शरिर बनाइराख्न पानी र शारीरिक कसरतलाई समेत उत्तिकै ध्यान दिन जरुरी रहेको सुनाउँछन् । 

मृगौलाले प्रतिघण्टा ३० मिलिमिटर पानी निकाल्ने पर्ने अन्यथा जोखिम हुने बताउँदै न्यूनतम २ देखि ४ लिटरसम्म पानी पिउनै पर्ने उनको भनाई छ । तर, कलेजो र मृगौलाका बिरामीलाई भने अवस्था हेरेर कम पानी चाहिने उनले बताए । 

‘मुख सुख्खा हुने, पिसाबको रंग पहेंलो देखिनेजस्ता लक्षणले शरीरमा पानीको मात्रा कम भएको जनाउ दिने भएकाले तुरुन्तै पानी पिउनु पर्छ’ उनी भन्छन् ‘पानी एकैपटक धेरै नपिई थोरै–थोरै मात्रामा पिइरहनु पर्छ ।’

पानीको सन्तुलनसँगै चाडवाडको खानपिनले शरिरलाई आलस्य बनाउने हुँदा त्यसको असरबाट जोगिन कसरलाई समेत दैनिकीमा समेट्न उनको सुझाव छ । 

‘कसरत कति र कस्तो गर्ने भन्ने प्रश्न धेरैको छ’ डा. थापाको सुझाव छ ‘हेभी कसरत जरुरी छैन, दैनिक ३० मिनटको हिँडाइ नै पर्याप्त छ । तर, हिँडाइले श्वास–प्रश्वास र मुटुको चाल भने बढाएको हुनुपर्छ ।’ 

Scroll to Top