नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एकरदुई दिन भित्र काठमाडौंमा १० हजार युवाको जुलुस गर्ने बताएका छन् । उनले एमाले पुरानै अवस्थाका फर्किएको पनि उद्घोष गरे ।
जेनजी आन्दोलनपछि जलेको पार्टी कार्यालयमा मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रममा बस्नेतले दुई दिन भित्र राजधानीमा १० हजार युवाको जुलुस गर्न लागेको बताएका हुन् ।
‘भोलि या पर्सीमा हामी काठमाडौंमा १० हजार युवाको जुलुस गर्छौं, के हो एमाले देखाउँछौं,’ बस्नेतले भने ।
एमालेले भन्दै आएको ‘मिसन ०८४’ २ वर्ष अगाडि सरेको र अब चुनावको तयारीमा लाग्ने उनले बताए । ‘हामी अब पुरानो अवस्थामा फर्कियौं, मिसन ०८४ भनेका थियौं । अब ०८२ मा लाग्यौं,’ बस्नेतले भने, ‘अब हामीले बहुमत ल्याउँछौं ।’
बस्नेतले २० मिनेट सम्बोधन गरेपछि युवा संघका अध्यक्ष क्षितिज थेबेले जेनजीको नाममा विध्वंस गर्नेलाई कारबाही गर्न माग गर्दै समयमै चुनाव हुनुपर्ने उल्लेख गरे ।