प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् ।
पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् ।
अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो ।
शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।
खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् ।
आन्दोलनकारी जेन–जीले रुचाएका व्यक्ति हुन् दुवै जना । जेन–जी आन्दोलनपछि उनीहरूको मागलाई निष्कर्षमा पुर्याउन अधिवक्ता अर्यालले भूमिका खेलेका छन् ।