गण्डकीका प्रदेश र स्थानीय तहका कर्मचारीलाई तालिम दिँदै प्रतिष्ठान

santan ads

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि लक्षित ३० कार्यदिने सेवाकालीन तालिमको शुभारम्भ गरेको छ।

यस तालिमले सार्वजनिक सेवा प्रवाहको गुणस्तर सुधार र कर्मचारीको कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य खगराज अधिकारीले सहभागीहरूलाई तालिमको अधिकतम सदुपयोग गरी आफ्नो कार्यसम्पादनमा निखार ल्याउन आग्रह गरे।

उनले कानुनको सफल कार्यान्वयनमा कर्मचारीहरूको भूमिका निर्णायक रहने कुरामा जोड दिँदै यस्ता तालिमहरू असल व्यवस्थापक उत्पादन गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन फलदायी हुने विश्वास व्यक्त गरे।

प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपसचिव नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए भने प्रशिक्षण तथा अनुसन्धान अधिकृत मनोज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

आगामी ३० दिनसम्म चल्ने यस तालिममा विभिन्न विषयवस्तु समेटिएका कुल १२० सत्रहरू सञ्चालन हुनेछन्।

तालिमले प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


Scroll to Top