‘मेयर मुर्दाबाद !’ को नारा लागेपछि सुरक्षा घेरामा बाहिरिए धनराज, बिथोलियो सार्वजनिक सुनुवाई

santan ads

पोखरा १७ मा रहेको डेभिज फल्स (पातले छाँगो) निजी क्षेत्रलाई दिने विषयमा स्थानीयसँग पोखरा महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई आज पनि बिथोलिएको छ ।

सुनुवाइकाक्रममा स्थानीयले मेयर धनराज मुर्दावादको नारा लगाएपछि केही समयमै मेयर आचार्य र जनप्रतिनिधिहरु बाक्लो सुरक्षा घेरामा बाहिरिएका छन् ।

डेभिज फललाई व्यापारिक प्रयोजनकालागि निजी क्षेत्रलाइ ४० वर्षसम्म भाडामा दिने सम्झौताको स्थानीयले सुरुदेखि नै विरोध गर्दै आएका छन् । सोहीक्रममा आज पनि स्थानीयले विरोध जनाउँदै सार्वजनिक सुनुवाइ बहिष्कार गरेका हुन् ।

सुनुवाइमा आसन ग्रहणपश्चात् डेभिज फल्स भाडामा लिने कम्पनी सेती क्यानोनिङ्का कार्गेन गुरुङले मन्तव्य राखेपछि स्थानीयले विविध प्रश्न राख्दा सुनुवाई पुनः बिथोलिएको हो ।

बर्षिक ५ करोड उठेको ठाउँलाई दुई करोडमा दिन लागिएको आरोप स्थानीयको छ । बर्षिक २ करोडमा ४० बर्षलाई निजि कम्पनीलाई बिना प्रतिस्पर्धा जिम्मा लगाई कमिसनको खेल खेलिएको उनीहरुको भनाई छ ।

यता, क्यानोनिङका गुरुङले भने ४ करोडको ठेक्का भएको र लगानीअनुसार कुनैपनि फाइदा नहुने बताउँदै आफुले घाटैमा भएपनि योगदान दिन चाहेको बताएका छन् ।

‘वार्षिक २ करोड रुपैयाँ महानगरलाई बुझाउँदा फाइदा हुँदैन’ गुरुङ भन्छन् ‘यद्यपि, पोखराको पर्यटन र स्थानीय विकासमा योगदान दिन चाहेका हौं ।’

आजको सुनुवाईस्थलमा सशस्त्र, नेपाल प्रहरी र महानगरका प्रहरीसमेत परिचालन गरिएका थिए ।

२०३४ सालदेखि उक्त स्थलको व्यवस्थापनमा रहेका विद्यालयले संकलन हुने प्रवेश शुल्कबाट वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गर्दै आएको थियो। सो रकम विद्यालयका करिब सय जना निजी शिक्षकको तलबमा खर्च हुँदै आएको थियो।

महानगरले भने डेभिड फल्सलाई भाडामा दिनुको उद्देश्य पारदर्शिता, दीर्घकालीन संरचनागत सुधार र पर्यटन प्रवर्द्धन रहेको जनाएको छ।

महानगरको निर्णयपछि विद्यालयका विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी, शिक्षक र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै विद्यालयको आम्दानी खोस्ने निर्णय तत्काल फिर्ता लिन निरन्तर माग गर्दै आएका छन् ।

Scroll to Top