सार्वजनिक सुनुवाइमा वडा सदस्यलाई बोलाइएन, ‘ग्रूप फोर’को विरोध

santan ads

पोखरा महानगरपालिकाले आज अपरान्ह सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।

सुनुवाईमा वडाध्यक्ष, कार्यपालिका सदस्य र महाशाखा प्रमुखलाई आमन्त्रण गरिएको छ भने वडा सदस्यहरुलाई बेवास्ता गरिएको छ ।

सदस्यहरुलाई बेवास्ता गरेपछि महानगरका ४ सदस्यले यसको विरोध गरेका छन् । उनीहरुले जनप्रतिनिधिलाई विभेद गरेको भन्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष लिखित निवेदन पेश गरेका छन् ।

निवेदनमा ‘वडा सदस्यको काम केवल नगरसभा पुगेर मासु-भात खानु र ताली पिट्नु मात्र होइन’, भन्दै ‘स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले वडा सदस्यहरूलाई अधिकारसहितको भूमिका दिएको छ। त्यसको सम्मान गरिनुपर्छ’ उल्लेख गरिएको छ ।

बेथिति र अनियमितता विरुद्ध पछिल्लो समय पोखरा महानगरका ४ वडा सदस्यहरु निरन्तर विरोधमा उत्रिरहेका छन् ।

‘ग्रूप फोर’ भनेर चिनिने युवा सदस्यहरुले यसअघि पनि महानगरले बजेटसम्बन्धी छलफल गर्न निजी इभेन्ट सेन्टरमा कार्यक्रम आयोजना गरेकोमा विरोध जनाएका थिए ।

लोकतन्त्रमा जनप्रतिनिधिमाथि नै विभेद हुनु अशोभनीय ठान्ने समूहका चारै सदस्य नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

जुझारु र चेतनशील युवा भएको भन्दै वडा सदस्य प्रकाश कोइराला भन्छन् ‘राजनीतिमा आचरणले महत्व राख्छ, आफ्नै पार्टीको गलत निर्णयविरुद्ध पनि हामी निरन्तर आवाज उठाउँछौं, वडा सदस्यलाई नबोलाइनु भनेको वडाबासीलाई तिरस्कार गर्नु हो ।’

निवेदनको सारः

श्री प्रमुख प्रशासकीय अधिकृतज्यू,
पोखरा महानगरपालिका,
पोखरा, कास्की।

विषय: सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सदस्यलाई बेवास्ता गरिएकोप्रति असहमति।

महोदय,
सविनय निवेदन गर्नु के छ भने, पोखरा महानगरपालिकाद्वारा मिति २०८२-०३-२० गतेमा हुनलागेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, महाशाखा प्रमुखलाई मात्र एसएमएसमार्फत निमन्त्रणा दिइएको तर वडा सदस्यहरूलाई त्यस कार्यक्रममा सहभागिताको अवसर प्रदान नगरिएकोप्रति हामी गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौं।

सार्वजनिक सुनुवाई स्थानीय सरकारको पारदर्शिता प्रक्रियामा अत्यन्त महत्वपूर्ण र निर्णयकारी भूमिका राख्ने संवैधानिक अंग हो। सार्वजनिक सुनुवाइ जस्ता सहभागी लोकतन्त्र प्रवर्द्धन गर्ने अवसरहरूमा सम्पूर्णवडा सदस्यको सहभागिता अपरिहार्य र न्यायसंगत हुनुपर्दछ।

यस्ता कार्यक्रमहरूमा वडा सदस्यहरूको उपस्थिति र सहभागिताले जनताका बहुआयामिक आवाजलाई संस्थागत रूपमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दछ। तर, यसपालिको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सदस्यहरूको सहभागिता सुनिश्चित नगरिनु सार्वजनिक सुनुवाईको गरिमा र भूमिकामाथिको प्रश्न उठाउने कार्य भएको हामी ठान्दछौं।

अतः हामी माग गर्दछौं कि:
– आगामी दिनमा आयोजना गरिने यस्ता सार्वजनिक कार्यक्रमहरूमा वडा सदस्यहरूको अनिवार्य सहभागिता सुनिश्चित गरियोस्।
– वडा सदस्यलाई बेवास्ता गर्ने कुनै पनि कार्य प्रणाली तत्काल सच्याइयोस्।
– यस प्रकारको असमान र विभेदकारी कार्यशैलीप्रति नगरप्रशासनले ध्यानाकर्षण गराउन चाहान्छौ ।

सुन्नमा आएको उपमेयर पनि सो दिन पोखरा बाहिर जादै हुनुहुन्छ रे उहा सगं सम्बन्धित प्रस्नको उत्तर कस्ले दिन्छ ?

हेक्काहोस ! वडा सदस्यहरुको काम नगरसभामा जाने मासु भात खाने, तालि पड्काउने मात्र होईन स्थानिय सरकार ऐन २०७४ ले अधिकार सुनिस्चित गरेको छ ।
जनप्रतिनिधिका रूपमा जनताको विश्वास बोकेर आएका वडा सदस्यको भूमिका कमजोर पार्ने कुनै पनि कार्य प्रणाली लोकतान्त्रिक मूल्य र अभ्यास विपरीत रहेको हामी पुनः स्पष्ट गर्दछौ ।

वडा सदस्यहरु —
प्रकाश कोईराला पोखरा-४
प्रकाश कार्की पोखरा-३३
शुशिल बास्तोला पोखरा-११
पुर्णचन्द्र न्यौपाने पोखरा-१०

Scroll to Top