सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ)लाई पदमुक्त गर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै निर्वाचन आयोगले मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ ।
सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा अन्योलमा रहेको आयोगले सोमबार फैसला सार्वजनिक भएलगत्तै उपनिर्वाचनको मिति टुङ्गो लगाएको हो ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रुपन्देही–३ सँगै मनाङमा पनि सोही मितिमा निर्वाचन गराउन दल दर्ता लगायतका प्रक्रिया छोट्याइने जानकारी दिए ।
‘सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको छ,’ भण्डारीले भने, ‘दल दर्ता लगायतका प्रक्रिया छोट्याएर भएपनि कात्तिक १७ गते नै उपनिर्वाचन हुन्छ ।’
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासले गत असार ४ गते मनाङेलाई पदमुक्त गर्ने फैसला गरेको थियो ।
सोमबार सार्वजनिक पूर्णपाठमा ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्चकै संयुक्त इजलासबाट दोषी ठहर भइसकेकाले उनी प्रदेश सभा सदस्य पदका लागि अयोग्य भएको उल्लेख छ ।
फैसलाअनुसार, मनाङे गत वर्ष कात्तिक २० गते सर्वोच्चबाट दोषी ठहर भएकै मितिदेखि पदमुक्त भएका हुन् । ज्यान मार्ने उद्योग जस्तो फौजदारी कसुर ‘नैतिक पतन’ भित्रै पर्ने ठहर पनि सर्वोच्चले गरेको छ ।
‘गुन्डा नाइके’ भनेर चिनिने मनाङेले २०६१ सालमा चक्रे मिलन समूहमाथि आक्रमण गरेको अभियोगमा मुद्दा खेपेका थिए । सोही मुद्दामा उच्च अदालत पाटनले सुनाएको ५ वर्ष कैद सजायलाई गत वर्ष कात्तिक २० गते सर्वोच्चले सदर गरेको थियो ।
मनाङ प्रदेश सभा (२) बाट निर्वाचित उनी हाल डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।